अत्तरिया - विश्वभर महामारीका रुपमा फैलिदै गइरहेको कोरोना भाईरस अर्थात कोभिड–१९ को असर चाड पर्वमा पनि परेको छ । रङहरुको पर्वका रुपले चिनिने होली पर्व बिगतका बर्षहरुमा निकै हर्षोउल्लासका साथ मनाइने गरेको भएपनि यस बर्ष कोरोना भाईरस संक्रमणको त्रासले होलीको रौनक घटेको छ । कोरोना भाईरसको जोखिमलाई मध्यनजर गरी स्थानीय प्रशासन र स्थानीय सरकारले एक ठाँउमा भिडभाड गरी होली नखेल्न आग्रह गरेपछि देशभर यस बर्ष होली पर्वको रौनक घटेको हो ।
वसन्त ऋतुको आगमन सँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्वमा एक आपसमा रङहरु लगाउदै , होलीका गितहरु गाउदै मनोरञ्जनका साथ मनाइने गरिन्छ ।
सोमवार देशका पहाडी भागहरुमा मनाइएको होली पर्व आज तराईका जिल्लाहरुमा मनाइदैछ । यद्धपी तराईका जिल्लाहरु कैलाली , कञ्चनपुरमा भने यस बर्ष खासै होलीको रौनक छाएको छैन । कैलालीको अत्तरिया , धनगढी लगाएतका बिभिन्न ठाँउहरुमा बिगतका बर्षहरुमा बिभिन्न कार्यक्रम तथा कन्सर्टहरु आयोजना हुदै आएको भएपनि यस बर्ष कन्सर्ट त पर जावस बजार क्षेत्रमा मानिसहरुको चहलपहल समेत निक कम देखिएको छ ।
यस्तै गाउँघरहरुमा पनि होलीको रौनक कम भएको छ । विभिन्न समूह , टोल सुधार समिती , विद्यालय , क्लब लगाएतले विगतका बर्षहरुमा पनि एक ठाँउमा जम्मा भएर होलीका गित गाउँदै होली खेल्ने गरेको भएपनि यस बर्ष भने कसैले पनि खेलेका छैनन् । गोदावरी नगरपालिका वडा नं २ तेघरीमा रहेको गौरीशंकर टोल सुधार समितिका अध्यक्ष पदमराज ओझाले बिगतका बर्षहरुमा गाउँका सबै साथी भाईहरु एक ठाँउमा जम्मा भएर घर घरमा गएर होली खेल्ने गरेको भएपनि यस बर्ष भने स्थगित गरिएको बताए ।
उनले प्रशासन कार्यालय र स्थानिय सरकारले गरेको आग्रहलाई मध्यनगर गर्दै यस बर्ष कुनै किसिमको कार्यक्रमहरु नगरिएको बताए । अत्तरिया बजारमा विगतका बर्षहरुमा बिभिन्न संघसंस्थाहरुको आयोजनामा होली बिषेश कार्यक्रम तथा कन्र्सटहरु हुने गरेको भएपनि यस बर्ष भने सबै कार्यक्रमहरु स्थगित गरिएका छन् ।
गोदावरी नगरपालिकाले एक अपिल जारी गर्दै कोराना भाइरसको संवेदनशीलता लाई मध्यनजर गर्दै सार्बजनिक स्थलमा भेला , मेला, महोत्सव एवं अन्य कुनै भिडभाड देखिने कार्यक्रम नगर्न अनुरोध गरेको छ । यस्तै जिल्ला प्रशासन कार्यालय कैलालीले पनि कोरोना भाईरसको जोखिमलाई मध्यनजर गर्दै सबैलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।
होलीको दिन बजार क्षेत्रमा ठूलो संख्यामा युवायुवतीहरु जम्मा हुदै होली मनाउने गरेपनि नगरक्षेत्र भित्र मानिसहरुको भिडभाड गरिने किसीमले कुनै कार्य नगर्न आग्रह गरिएपछि आज अत्तरिया बजार क्षेत्रमा मानिसहरुको चहलपहल पनि घटेको थियो ।
होली पर्वलाई मध्यनजर गर्दै सुरक्षा ब्यबस्थामा पनि कडाइ गरिएको छ । होली पर्वमा बिभिन्न खाले घटनाहरु हुने हुदा सुरक्षा ब्यबस्थामा पनि कडाइ गरिएको प्रहरीले जनाएको छ ।