अत्तरिया - आज फागुन शुक्ल पूर्णिमा । फागु अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ । विभिन्न रङ अविर र लोला खेली होली पर्व मनाइन्छ ।
वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ । आज देशका पहाडी भागहरुमा होली पर्व हर्षोल्सा पूर्वक मनाइदैछ । नेपालका सबै जात जातिले मनाउने होली पर्व आज पहाडी भेगमा मनाउने गरिन्छ भने भोलि तराईका क्षेत्रहरुमा हर्षोल्लासपूर्वक होली मनाइन्छ ।
पहाडी र तराइ क्षेत्रमा दुई दिनसम्म मनाइने होली पर्वमा साथी भाइ तथा इष्टमित्रहरु एकठाउँमा जम्मा भएर रंगहरुसँग खेल्दै रमाइलो गर्ने प्रचलन छ । हिन्दुहरुले यसलाई महत्वपूर्ण चाडका रुपमा लिने गरेको हुदा होलीमा रङ्गहरूको टीका लगाइ मनाउने गरिन्छ । यस वर्ष कोरोना भाइरसको प्रभाव विश्व व्यापीरूपमा बढ्दै गएकाले पनि फागु पर्वमा पानी र रङ प्रयोग नगर्न प्रशासनले आह्वान गरेको छ ।
नेपालमा अहिलेसम्म कोरोनाको प्रभाव नदेखिए पनि विश्व स्वास्थ्य सङ्गठनले उच्च जोखिममा राखेकाले भिडभाड नगरि सतर्कता अपनाउन प्रशासनले अनुरोध गरेको हो । कोरोना सङ्क्रमणको जोखिम चिसोमा बढी हुने र धेरै मानिस जमघट हुँदा सर्ने सम्भावना बढी हुने भएकाले एक ठाउमा जम्मा भएर धेरै भिडभाड गरी रङ खेल्ने , पानीका लोला हान्ने , पिचकारीले छ्याप्ने लगाएतका काम नगर्न आग्रह गरिएको छ ।
यस्तै कसैको इच्छारबिना जबर्जस्ती रङ दल्ने, लोला हान्ने, फोहर छ्याप्नेलाई अभद्र ब्यावहारमा मुद्दा चलाइने प्रहरीले जनाएको छ । बालबालिकाले पनि कसैको इच्छा विपरीत कसैलाई रङ तथा लोला हानेमा अभिवाभकलाई अभद्र ब्यावहारमा मुद्दा चलाइने प्रहरीले जनाएको छ ।
त्रेतायुगमा हिरन्यकश्यपु नामक दानवले आफ्नै छोरा भगवान भक्त प्रल्हादलाई मार्नका लागि आफ्नी बहिनी होलिकाका साथमा आगोमा पठाएका थिए । भगवान विष्णुको प्रतापले प्रल्हादलाई आगोले केही नगरे पनि आगोले नजल्ने बरदान पाएकी होलिका भनें सो अग्निमा जलेर नष्ट भएको किम्बदन्ती होली पर्वसँग जोडिएको छ ।