धनगढी - सुदुरपश्चिम प्रदेशका सत्तापक्षीय सासंदहरुले नै सरकारका बिरुद्ध चर्को आलोचना गरेका छन् । आईतवार बसेको सुदुरपश्चिम प्रदेश सभा बैठकमा बिशेष समयमा बोल्दै सत्तापक्षीय सासंदहरुले सरकारले बजेट खर्च गर्ने अख्तियारी ढिलो गरी दिएको भन्दै चर्को आलोचना गरेका हुन् ।
सत्तापक्षका सांसद लिलाधर भट्टले आर्थिक बर्षको दशौं महिनामा प्रवेश गरेपछि अहिले आएर बजेट खर्च गर्ने अख्तियारी दिइएको भन्दै सरकारको आलोचना गरे । उनले सम्पुरक अनुदान, बिशेष अनुदान, सहकारी अनुदान र महिला सशक्तीकरण जस्ता करोडौं रकम भएको कार्यक्रमहरु कहिले संचालन गर्ने भन्दै प्रश्न गरे ।
यस्तै सत्तापक्षीय सांसद शान्ति नेपालीले प्रदेश सरकार गठन भएपछि तेस्रो आर्थिक बर्ष शुरु हुन गइरहेकोले संघीय सरकारले प्रदेशलाई दिनुपर्ने अधिकार दिन नचाहिरहेको बताइन् । बिशेष समयमा बोल्दै सुदुरपश्चिम प्रदेशका पूर्वमन्त्री समेत रहनुभएका प्रदेश सांसद दीर्घ सोडारीले छ लेन सडकमा धनगढी देखि अत्तरियासम्म जाँदा सर्बसाधारणले निकै सास्ती खेपीरहेको बताए । उनले सो बाटोमा मोटरसाइकल चढेर एक दिन अत्तरिया सम्म पुग्न सरकारका मन्त्रीहरुलाई आग्रह गर्छु भन्दै ब्यंग्य गरे । छ लेन सडक नबन्दा सम्म जनताले धेरै दुख पाउने हुदा बैकल्पिक सडकका रुपमा प्रयोग गरिरहेको धनगढीको पिपल चौतारा देखि स्याउले सम्मको सडक चालू आर्थिक बर्षमै कालोपत्रे गर्न उनले माग गरे ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सासंद कर्णबहादुर मल्लले सामासजिक विकास मन्त्रालयमा अक्सिजन प्लान्ट लगायत औषधी खरीदका लागि टेण्डर गर्दा सस्तोमा भन्दा महाङ्गोमा टेण्डर हाल्नेलाई कामको जिम्मेवारी दिएकोले सो सम्बन्धमा छानवीन गर्न प्रदेश सरकारलाई शक्तिशाली आयोग बनाउन माग गरे ।
यस्तै नेपाली कांग्रेसका प्रदेश सदस्य टेक बहादुर रैकाले दलितहरुलाई पद दिने कुरामा सरकारले कञ्जुस्याई गरेको आरोप लगाए । उनले प्रदेश सरकारले समावेशी सिद्धान्तका आधारमा कुनै पनि दलित सासंदलाई मन्त्री नबनाएको भन्दै रोष प्रकट गरे ।
आईतबारको बसेको बैठकमा प्रदेश सभा सञ्चालन नियमावली २०७४ माथिको पहिलो संशोधन प्रतिवेदन र प्रदेश सभा सचिव र सचिवालय ब्यवस्थापन सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयक माथि दफावार छलफल पछिको प्रतिवेदन पेश भएका छन् । प्रदेश सभाको अर्को बैठक बैशाख १० गतेका लागि आह्वान गरिएका छ ।