बैतडी – लगातारको वर्षाको कारण बैतडीका उच्च लेकाली क्षेत्रमा फेरि हिमपात भएको छ । बिहीबार देखि मौसममा आएको परिवर्तन सँगै आज बिहान उच्च लेकाली क्षेत्रमा हिमपात भएको हो । खोड्पे, श्रीभावर, गर्जे लगायतका उच्च क्षेत्रमा हिमपात भएको स्थानीयले बताएका छन् ।
यो वर्ष लगातारको वर्षा र हिमपातले अझै पनि चिसो कम हुन नसकेको पाटन नगरपालिका–८ खोड्पेका मोहनसिंह ऐरले बताए ।
लगातारको वर्षा र हिमपातले चिसो बढेको उनले बताए । यो वर्ष फागुन अन्तिम सातासम्म हिमपात नरोकिए पछि उच्च लेकाली क्षेत्रमा चिसोले जनजीवन कष्टकर भएको सिगास–९ चौखामकी लक्ष्मीचन्द शाहले जानकारी दिइन् ।
वर्षा र हिमपातले अत्यधिक चिसो बढ्दा बाहिर निस्कन समेत मुस्किल भएको उनले बताइन् । चिसोको समयमा स्वासप्रस्वास र निमोनियाजस्ता रोग लाग्न सक्ने भएकाले यो बेला वृद्धवृद्धा र बालबालिकाको स्वास्थ्यमा ध्यान दिन स्वास्थ्यकर्मीले बताएका छन् ।
यो वर्ष हिमपात र वर्षा नरोकिएपछि बेँसी क्षेत्रमा गहुँबालीमा समेत असर परेको छ । बेँसी क्षेत्रमा वर्षाका कारण गहुँबालीमा क्षति पुगेको किसानले बताएका छन् । लगातारको वर्षाको कारण गहुँमा विभिन्न रोग देखा परेका कृषि प्राविधिकले बताएका छन् ।
डोटीमा सातौँ पटक हिमपात
बिहीबार रातिदेखिको मौसममा आएको परिवर्तनका कारण जिल्ला सदरमुकाम सिलगढीका डाँडाकाँडामा बाक्लो हिमपात भएको छ । गएको फागुन ९ गते परेको हिउँ पग्लन नपाउँदै फेरि शुक्रबार रातिदेखि हिमपात भएपछि जनजीवन प्रभावित बनेको खप्तड राष्ट्रिय निकुञ्जको कार्यालयले जनाएको छ ।
डोटीकोे खप्तडमा रहेको झिग्राना, पानीखाल, शिखर, गोवडालेक, बडीकेदारथान, नापानी, चिरकिट्टे, उदैनि, देउताल, मुस्ताल लगायतका क्षेत्रमा हिमपातका कारण चिसो बढेकाले गाईवस्तु चराउन समस्या भएको शिखर नगरपालिका वडा नं १ नापनाीका स्थानीय दीर्घबहादुर बोगटीले बताए ।
डोटी सहित यहाँका अन्य पहाडी जिल्लाहरु बझाङ, बाजुरा, अछाम तथा डडेल्धुराका उच्च लेकाली क्षेत्रमा हिमपात भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलको प्रहरी सञ्चार शाखाले जनाएको छ ।
यो सहित यहाँका पहाडी जिल्लामा सातौँ पटक हिमपात भएको हो । सुदूरपश्चिमको प्रमुख पर्यटकीय स्थल खप्तडमा मात्रै कम्तीमापनि दुई फिट हिमपात भएको खप्तड राष्ट्रिय निकुञ्जको सुरक्षामा तैनाथ रहेको नेपाली सेनाको गुरुगोरख गुल्मले जनाएको छ ।