धनगढी - सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री नमूना गाउँ’ कृषि कार्यक्रम शुरू भएको छ । प्रदेश सरकारको आर्थिक वर्ष २०७६ र ७७ को नीति तथा कार्यक्रम अन्तर्गत प्रदेशभरि ‘मुख्यमन्त्री नमूना गाउँ’ कृषि कार्यक्रम शुरू भएको हो ।
प्रदेशका ९ जिल्लाका ८८ ओटै स्थानीय तहमा उक्त कार्यक्रम शुरू भएको भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयले बताएको छ । मन्त्रालयले कार्यक्रम छनोटका लागि कृषि ज्ञान केन्द्र र भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्रलाई जिम्मेवारी दिएको छ । मन्त्रालयले एउटा नमूना कृषि कार्यक्रमका लागि ५० लाख बजेट विनियोजन गरेको छ ।
भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयका वरिष्ठ कृषि प्रसार अधिकृत गोकुलप्रसाद बोहराले प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रम अनुसार प्रदेशका सबै स्थानीय तहमा सो कार्यक्रम शुरू गरिएको जानकारी दिए ।
उनका अनुसार ‘एक स्थानीय तह, एक उत्पादन’को नीति अनुसार कृषि कार्यक्रम सञ्चालन भइरहेको छ । अधिकृत बोहराले हरेक स्थानीय तहमा छुट्टाछुट्टै कार्यक्रम सञ्चालन हुने र सबै पालिकाले सम्बन्धित क्षेत्रबाट कृषि योजना छनोट गरिसकेकाले सोही अनुसार बजेट समेत विनियोजन भइसकेको बताए ।
मन्त्रालयले कृषि र पशुपालनका लागि ५० प्रतिशत अनुदानको व्यवस्था गरेको छ । प्रदेशका तराईका जिल्ला कैलाली–कञ्चनपुरका कृषक कृषितर्फ र पहाडी जिल्लाका कृषक पशुपालन र फलफूल व्यवसायमा आकर्षण देखिएको मन्त्रालयको भनाइ छ ।
मन्त्रालयका अनुसार कैलाली र कञ्चनपुरमा धान, गहुँ, उखु, केरा, तेलहन बाली लगायत कृषि कार्यक्रम सञ्चालन भइरहेको छ भने पहाडी जिल्लामा स्याउ, सुन्तला, तरकारी, बाख्रापालन, गाईपालन लगायत कार्यक्रम सञ्चालन गरिएको छ । उक्त कार्यक्रम अन्तर्गत कृषि र पशुपालन दुवैमा कृषकलाई अनुदान दिइने मन्त्रालयले बताएको छ ।