काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले ग्यास अभाव नहुने भन्दै लाइन नबस्न आग्रह गरेका छन् । शुक्रबार पत्रकार सम्मेलनमा उनले फोन गर्नेवित्तिकै ग्यास पाउने गरी हटलाइन टेलिफोनको व्यवस्था गर्ने बताए ।
आपूर्ति मन्त्रालय र नेपाल आयल निगममा छिटै हटलाइन टेलिफोन व्यवस्था गर्ने मन्त्री भट्टले बताए । उनले घरमा थप सिलिण्डर राख्नुनपर्ने पनि बताए । नेपालमा अहिले सबै उपभोग्य वस्तुको आपूर्ति सामान्य रहेको पनि मन्त्री भट्टले बताए ।
औषधि नरोकिने
पत्रकार सम्मेलनमा मन्त्री भट्टले नेपाल आउने कुनै पनि औषधि भारतले नरोक्ने बताएका छन् । उनले भारतीय पक्षसँग कुराकानी भइरहेको र तत्काल औषधि नरोकिने जवाफ आएको बताए । कोरोना भाइरसको संक्रमण फैलिएपछि भारतले २६ प्रकारका औषधि र कच्चा पदार्थ निर्यातमा रोक लगाएको थियो । भारतको उक्त कदमपछि वाणिज्य सचिवस्तरीय वार्ता भएको मन्त्री भट्टले जानकारी दिए ।
‘हामीले कुराकानी गरिसकेका छौँ, विशिष्ट अवस्था भएकाले आवश्यक वस्तु रोक्दैनौँ भनेर जवाफ आएको छ । चीनबाट औषधि सम्बन्धी कच्चा पदार्थ जान्छ । आफूलाई असर पर्छ कि भनेर २६ ओटा औषधिमा रोक लगाएको छ, तर नेपालका लागि नरोक्ने जवाफ आएको छ’ उनले भने ।
मौजाद राख्दा अभाव सिर्जना
त्यस्तै, मन्त्रालयले पेट्रोलियम पदार्थ, नुन, चिनी चामल लगायत खाद्यन्न आपूर्तिमा समस्या नरहेको जनाएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लि सँग हाल २५ हजार ६६९ मेट्रिक टन चामल मौज्दात रहेको मन्त्रालयको भनाई छ ।
पत्रकार सम्मेलनमा मन्त्री लेखराज भट्टले बजार हल्ला हुँदा उपभोक्ताले स्टक बढाउने गरेकाले समस्या भएको बताए । ‘बजार हल्ला हुँदा उपभोक्ताले होल्डिङ बढाउन थाले’, मन्त्री भट्टले भने, ‘सञ्चारमाध्यमले पनि यस्तो बेला संयमित समाचार दिन आवाश्यक छ ।’ उनले खाद्यन्न ६ महिना, नुन १० महिना र ग्यास १ महिनालाई पुग्ने स्टक रहेको भन्दै उपभोक्तालाई नआत्तिन आग्रह गरेका छन् । कोरोना त्रासपछि बजार भाउको मूल्य बृद्धि भएको भन्ने जनगुनासो बढिरहेका बेला मनत्री भट्टले स्याउ र लसुनमा बाहेक मूल्य नबढेको प्रस्ट पारेका छन् ।
मन्त्रालयले कोरोना भाइरसका कारण अत्याधिक माग बढेको र सर्वसाधारणले माक्स र सेनेटाइजर मौजाद राख्दा अभाव सिर्जना भएको दावी गरेको छ । त्यस्तै, उक्त मन्त्रालयले माक्स र सेनेटाइजरको आपूर्ति बढाइ सहज र सरल बनाउन भन्सार महसुल छुटका लागि अर्थ मन्त्रालयसँग अनुरोध पनि गर्ने भएको छ ।
बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, औषधी व्यवस्था विभाग लगायत सम्बद्ध निकायहरुबाट बजार अनुगमनलाई प्रभावकारी बनाउने भन्दै बजारमा विभिन्न बस्तुको अभाव नभएपनि कृतिम अभाव सिर्जना गरिएकाले प्रभावकारी बजार अनुगमन गर्ने तयारी गरेको छ । त्यसका लागि सरकारले व्यवसायीहरुलाई सहयोग गर्न अनुरोध गरेको छ ।
उपभोक्ताहरुलाई उपभोग्य बस्तुको अभाव नभएको विषयमा आश्वस्त पार्न तथा छाता संगठन मातहत निकायले आपुर्ति व्यवस्था नियमित गर्ने र मूल्यबृद्धि गर्न नदिने व्यवस्था मिलाउने मन्त्रालयले जनाएको छ । मन्त्रालयले अनुचित नाफा कमाउने उदेश्यले उपभोग्य वस्तुको बिक्री वितरण एवं कृतिम अभाव नगर्न सरकारले व्यवसायीहरुलाई सचेत गराएको छ ।