काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (ने क पा) पार्टीका जिल्ला कमिटीको नेतृत्व टुंग्याउने र पोलिटब्युरो गठनको अन्तिम गृहकार्यमा जुटेको छ।
गत जेठ ३ गते तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकीकरण हुँदा तीन महिनाभित्र सबै तहमा एकीकरण गरिसक्ने भनिए पनि ११ महिनासम्म पार्टी एकता तल्लो तहसम्म पुग्न सकेको छैन।पार्टी एकता गर्ने लक्ष्यसहित प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा वाम गठबन्धन बनाएर चुनावमा होमिएका नेकपा एमाले र माओवादी केन्द्रबीच एकता हुन चुनाव सकिएको पाँच महिना लागेको थियो।
गत वर्ष वैशाख ९ गते नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसका दिन पार्टी एकताको सन्देश दिन संयुक्त रुपमा सभा आयोजना गरिएको थियो। त्यसको एक महिनापछि एकता भएको थियो। पहिलो पटक तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रले संयुक्त रुपमा स्थापना दिवस मनाएका थिए।यस वर्ष नेकपाले पार्टी स्थापना दिवसकै दिन पारेर जिल्ला नेतृत्व र पोलिटब्युरोको घोषणाको तयारी गरिरहेको छ।
सोमबार प्रज्ञा भवन कमलादीमा १२ बजे कार्यक्रम गर्ने तयारी गरिरहेको छ। सो कार्यक्रममा उपस्थित हुन नेकपाले पार्टीका नेता कार्यकर्तालाई पत्राचारसमेत गरिसकेको छ।नेकपाले ७७ वटा जिल्ला अध्यक्ष र सचिवहरुको नाम तथा पोलिटब्युरो सदस्यको नाम आज दिनभरमा टुंग्याउने गरी पार्टीका दुई नेतालाई जिम्मा दिइएको थियो । नेकपाले सोमबार अप्रिल २२ लेनिन जयन्ती र नेपाल कम्युनिस्ट पार्टीको ७० औँ स्थापना दिवस मनाउँदै छ। सोही कार्यक्रममा जिल्ला अध्यक्ष र सचिवका साथै पोलिटब्युरो सदस्यहरुको नाम सार्वजनिक गर्ने तयारी भएको हो।नेकपाको ७७ वटा जिल्ला कमिटी, उपत्यका विशेष जिल्ला कमिटी, मजदुर, विद्यार्थी, सम्पर्क समन्वय कमिटीको नेतृत्व टुंगो लाग्न बाँकी छ। त्यस्तै पोलिटब्युरोसमेत गठन हुन सकेको छैन।
एक व्यक्ति एक पदको नीतिमा खुकुलो
पार्टी एकता गर्दा प्रधानमन्त्री केपी शर्मा ओली बाहेक अरुको हकमा एक व्यक्ति एक पदको नीति लिएको थियो। ओलीको हकमा अध्यक्ष र प्रधानमन्त्री हुन पाउने भए पनि मन्त्री तथा जननिर्वाचित प्रतिनिधिहरुको हकमा एक व्यक्ति एक पदको नीति लिने बताइएको थियो।मन्त्रीहरु तथा प्रतिनिधिहरुलाई पार्टीको कार्यकारी जिम्मेवारी नदिने बताइएको थियो। तर, प्रदेश कमिटीको गठन हुँदा यो नीतिको उल्लंघन गरिएको थियो। प्रदेश ५ र गण्डकी प्रदेशका मुख्यमन्त्रीलाई प्रदेश पार्टीको नेतृत्वको जिम्मेवारी दिइएको थियो। यसको विरोध नेकपाको गत मंसिरमा सम्पन्न स्थायी कमिटीको बैठकमा सदस्यहरुले विरोध गरेका थिए। यसको विरोधमा नेकपा भित्रको माधव नेपाल समूह आवाज उठाइरहेको थियो।
तर, अहिले जिल्ला नेतृत्वको टुंगो लगाउँदा एक व्यक्ति एक पदको नीतिमा खुकुलो गर्ने सहमतिमा पुगेको एक नेताले जानकारी दिए।जिल्ला नेतृत्वको भागबन्डा गर्दा पूर्व एमालेले ४५ र पूर्व माओवादीले ३२ जिल्लाको नेतृत्व पाउने गरी सहमति भएको छ। यद्यपी यो अन्तिम समयमा तल माथि हुन सक्ने स्रोतले जनायो। त्यस्तै पूर्व एमालेले अध्यक्ष पाएको जिल्लामा पूर्व माओवादी केन्द्रले सचिव र पूर्व माओवादी केन्द्रले अध्यक्ष पाएका जिल्लामा पूर्व एमालेले सचिवको जिम्मेवारी पाउने छन्।पूर्व एमालेभित्र जिल्ला नेतृत्वमा झण्डै ओली र नेपाल समूहबीच बराबरीको भागबन्डा गरेर मिलाउने सहमति भएको छ।यसैबीच ने क पाले करिब १५० सदस्यीय पोलिटब्युरोसमेत गठन गर्ने तयारी गरेको छ।
केन्द्रीय सदस्यको एक तिहाई सदस्य रहने गरी पोलिट ब्यूरो गठनको तयारी गरेको छ।यसरी गठन हुने पोलिटब्युरोमा पूर्व माओवादी केन्द्रबाट ६० देखि ७० जना सम्म र पूर्व एमालेबाट ८० देखि ९० सम्म पोलिटब्युरोमा जाने बताइएको छ।