धनगढी – कोरोना भाइरस (कोभिड १९) को संवेलनशिलताका लागि धनगढीमा सतर्कताका गतिविधीहरु सुरु भएका छन् । भारतको राजधानी दिल्लीमा कोरोना भाईरसको संक्रमण देखापरेको खवर बाहिर आएपछि नेपाल भारत सिमवर्ती शहर धनगढीमा उच्च सर्तकता अपनाईएको छ । धनगढीबाट दिल्लीको दुरी ४ सय ३९.७ किलोमिटरको दुरी रहेको छ । सडक यातायातबाट ९ घण्टा ४२ मिनेटमा धनगढीबाट दिल्ली पुगिन्छ ।
उच्च सर्तकता अन्तरगत धनगढी उप–महानगरपालिकाको अगुवाईमा तीनवटै सुरक्षा निकाय, नेपाल रेडक्रस सोसाईटी कैलाली शाखाको समन्वयमा त्रिनगर भन्सार नाकामा हेल्प डेस्क स्थापना गरिएको छ । हेल्प डेस्क २४ घण्टा खुला रहने धनगढी उप–महानगरपालिका प्रमुख नृपबहादुर वडले बताए । उनले भने, भारतबाट फर्किनेहरुलाई स्वास्थ्य परीक्षण गर्ने, बिरामी भेटिएमा उपचारका लागि स्वास्थ्य संस्थामा पु¥याउन एम्बुलेन्सको समेत ब्यबस्था गरिने छ ।
त्यसैगरी धनगढी उच्च सम्वेदनशील क्षेत्र भएको भन्दै शुक्रवार बिहान धनगढी उप–महानगरपालिकामा बसेको नगर शिक्षा समिति, शिक्षक संघ, संगठन, प्याप्सन , एनप्याप्सन र अन्य सरोकारवालाहरुको बैठकल उप–महानगरपालिका अन्तरगत संचालित सामुदायीक तथा संस्थागत विद्यालयहरु लगायत सम्पूर्ण शिक्षण संस्थाहरुमा आधारभूत तथा विद्यालयका आन्तरिक परीक्षा लगायत पठन पाठनका सम्पूर्ण क्रियाकलापहरु अर्को सूचना नभए सम्म मिति २०७६ फागुन २५ गते देखि लागु हुने गरी बन्द गर्ने निर्णय गरेको छ ।
शिक्षा मन्त्रालयले चैत ६ गते भित्र कक्षा ९ सम्मको परीक्षा सम्पन्न गरिसक्ने भन्ने जानकारी आएको भएपनि हतारमा गर्नुभन्दा ढिलो गरी परीक्षा गर्ने सहमती भएको छलफलमा सहभागि शिक्षकहरुले बताएका छन् ।
यही बिषयलाई लिएर धनगढी उप–महानगरपालिकाले जिल्लाका सरकारी तथा गैरसरकारी संस्था संग समन्वय बैठक सम्पन्न गएको छ । बिपद परेमा कसरी सामना गर्ने भन्ने बिषयमा छलफल भएको उप–महानगरपालिकाले जनाएको छ ।
धनगढी बिमानस्थलमा रहेको हेल्पडेस्कको अवस्था पनि सक्रिय अवस्थामा राखिएको छ । त्यसैगरी धनगढी उप–महानगरपालिका क्षेत्रमा कोरोना भाईरसका बारेमा जनचेता फैलाउन पर्चा पम्पलेट लगायत टोलटोलमा महिला स्वास्थ्य स्वयं सेविकाहरु परिचालन गरिएको छ ।