डडेल्धुरा – संघिय सरकारका स्वास्थ्य राज्यमन्त्री नबराज रावतले कोरोना भाईरसको संक्रमण नेपालमा भित्रिन नदिन अन्तराष्ट्रिय उडान बन्द गर्नुका साथै खुल्ला सिमा जोडिएका चीन भारतका सबै नाका केही समयका लागि भए पनि बन्द गरिनु पर्ने बताएका छन ।
स्वास्थ्य विमा लागु भएको औपचारिक रुपमा घोषणा गर्न डडेल्धुरा पुगेका मन्त्री रावतले बिहिबार बिहान सञ्चारकर्मी संगको कुराकानीमा हाल सम्म नेपालमा कोरोना भाईरस भएको पुष्टि नभएको भए पनि यसको संक्रमण भित्रिन नदिन अन्तराष्ट्रिय उडान र चिन भारत संग नाका जोडिएका सबै क्षेत्र केही समयका लागि भए पनि बन्द गर्नु पर्ने निर्णय मन्त्रि परिषदबाट गरिनु पर्ने बताए ।
कोरोनाको संक्रमण अन्य देशहरुमा फैलिएको देख्दा नेपालको श्रोत साधन, जनशक्तिले धान्न सक्ने कि नसक्ने भन्ने गम्भिर समस्या रहेकाले यसको संक्रमण भई सके पछि भन्दा पनि संक्रमण नै भित्रिन नदिन सजक हुनुपर्ने बताए ।
‘चीनमा रहेका नेपालीलाई काठमाण्डौं पु-याए पछि आफै अनुगमनमा गई त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा रहेका दुई वटा चेकजाँच स्थल (हेल्थ डेस्क) बाट बढाई ६ वटा पु-याएका छौ । नँया आधुनिक प्रबिधि बाट चेकजाँच भई रहेको छ ।’ मन्त्री रावतले भने – ‘चिनमा संंक्रमण फैलिए जस्तै भारतमा संक्रमण फैलिए बढि चिन्ताको हुन्छ ।’ उनले खुल्ला नाका रहेको भारतका सबै नाका केही समयका लागि भए पनि पूर्ण रुपमा बन्द गर्नु पर्ने बताए ।
उनले सबै सरकारी लगायत निजि अस्पताललाई कुनै पनि घटना हुँदा वा कुनै पनि समस्या पर्दा तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयले निर्देशन गरिसकेको बताए । यसको संक्रण फैलिए पछि भन्दा पनि यसको संक्रमण फैलन नदिन आम सबैलाई सचेत रहन उनले आग्रह गरे ।
फरक प्रसंगमा बोल्दै मन्त्री राउतले स्वास्थ्य मन्त्रालयको काम सबै नेपाललीलाई स्वस्थ्य राख्नु पर्ने भए पनि आफै अस्वस्थ्य रहेको बताएका थिए । निति र बिधिबाट स्वास्थ्य मन्त्रालय नचलेको आफूले पाएको उनको भनाई थियो । कतिपय काम संविधान तह नभएको भन्दै उनले आफू आई सके पनि क्रमागत रुपमा केही कामहरु गर्दै गएको भए पनि कानुनी बाधा अड्चन भएको औल्याएका थिए ।
यसैबिच विहिबार देखि डडेल्धुरामा पनि स्वास्थ्य बिमा लागु भएको छ । सस्तो सुलभ तवरबाट जनतालाई स्वास्थ्य सेवा पेदान गर्ने लक्ष्यका साथ सदूरपश्चिम प्रदेशको कैलाली बाट सुरुवात भएको बिमा कार्यक्रम अन्तरगत डडेल्धुरा पनि देशको ५५ औँ जिल्लाका रुपमा स्वास्थ्य बिमा लागु भएको जिल्ला बनेको मन्त्री रावतले बताए । स्वास्थ्य बिमामा आबद्ध भएर लाभ लिन उनले सबैलाई आग्रह समेत गरे ।