अत्तरिया - कैलाली कञ्चनपुर सहित तराईका जिल्लाहरुमा भएको दुई दिने बन्द खुलेको छ । थरुहट सरकारसँग बिभिन्न १४ बुँदे माग राख्दै आन्दोलनमा रहेको थारुहट थारुवान राष्ट्रिय मोर्चाले सरकारलाई दबाब दिन हिजो र आज गरेको दुई दिने बन्द आज साझ ५ बजेदेखी खुलेको हो ।
दुई दिने बन्दका कारण प्रभावित भएकोमा बन्द खुलेसंगै जनजिवन सामान्य बन्दै गइरहेको छ । बन्दे बिभिन्न ठाँउमा रोकिएका सवारी साधन तथा याात्रुहरु अहिले आ आफ्नो गन्तब्य तर्फ लागि रहेको छन् । सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरिक्षक लोकेन्द्र श्रेष्ठले बन्द खुलेसंगै अहिले सम्पूर्ण सवारी साधनहरु निर्वाध रुपमा संचालनमा आएको बताए ।
उनले हिजो र आज दुई दिनको बन्दका कारण ठप्प रहेका लोमो तथा छोटो दुरीका सवारी साधनहरु साझँ ५ बजे चलान लिएर आ आफ्नो गन्तब्य तर्फ गइरहेको जानकारी दिए । बन्दका कारण कलकारखाना, उद्योगधन्दा, व्यापार व्यवसाय, शिक्षण संस्था लगायत यातायातका साधन पूर्ण रुपमा बन्द रहेका थिए ।
यसैबिच आन्दोलनरत थारुहट थारुवान राष्ट्रिय मोर्चाले एक बिज्ञप्ती जारी गर्दै दुई दिन आमहड्ताललाई सफल पार्न सहयोग गर्ने सबैमा धन्यवाद दिएको छ । हाम्रो यस दुई दिने घोषित आन्दोलनलाई भब्य , सम्भ र शन्तिपूर्ण रुपमा सम्पन्न गर्न सबैमा हृदयदेखि धन्यवाद दिन चाहान्छौ । हामी थारुहट थारुवान राष्ट्रिय मोर्चाका मागहरु पुरा नभए सम्म निरन्तर आन्दोलनमा हुनेछौ र हाम्रो आन्दोलन जारी नैरहेको जानकारी गराउदै आगामी आन्दोलनको कार्यक्रमहरुमा पनि यसरी नै यहाहरुको साथ , सहयोग र सहकार्य रहनेमा हामी आशावादी रहेका छौ थारुहट थारुवान राष्ट्रिय मोर्चाका महासचिब तुलसी थारुद्धारा हस्ताक्षित बिज्ञप्तीमा भनिएको छ ।
आम हड्तालको समयावधिमा अतिआवश्यक सवारी साधनहरु, दमकल, एम्बुलेन्स, शव बाहन, सुरक्षा निकाय, दुध बोक्ने साधन, औषधीजन्य सवारी, रेडक्रस, मानव अधिकारकर्मी, पर्यटक, पत्रकार, कुटनीतिक नियोगका सवारी साधनहरु भने चल्न दिइएको थियो ।
रेशम चौधरीसहित ११ जना जेलबन्दीको रिहाइ गर्नुपर्ने, टीकापुर घटनाबारे सत्यतथ्य छानबिन गर्न पूर्व न्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको न्यायिक समिति, गृह मन्त्रालयद्वारा गठित अनुसन्धान विभागका पूर्व प्रमुख देवीराम शर्माको संयोजकत्वमा गठित छानबिन समितिको प्रतिवेदन र सर्वदलीय संसदीय समितिको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने लगायत माग राख्दै मोर्चा फागुन १ देखि आन्दोलनमा छ । आन्दोलनमा आदिवासी जनजाति महासंघ, मिसन अम्बेडकर नेपाल, खसान संघर्ष समिति, खम्बुवान राष्ट्रिय मोर्चा, संघीय लोकतान्त्रिक मञ्च, नेपाल राष्ट्रिय पार्टी, संयुक्त खस क्षेत्री नेपाललगायत संघ संस्थाले ऐक्यबद्धता जनाएका छन्।