धनगढी - आयोजक सुदुरपश्चिम–११ स्पोर्टस क्लब मोफसलकै सर्वाधिक धनराशीको नेपाल आईस सुदूरपश्चिम अन्तराष्ट्रिय आमन्त्रण सुदुरपश्चिम खप्तड गोल्डकपको चौथो संस्करणको च्याम्पीयन बनेको छ । आज भएको फाईनलमा थ्रीस्टार क्लबलाई हराउँदै आयोजक टीम च्याम्पीयन बनेको हो । सुदुरपश्चिम–११ ले ए डिभिजन क्लब थ्रीस्टारलाई १–० ले हराउँदै पहिलो पटक उपाधि जितेको छ । तेस्रो संस्करणमा पनि नेपाल पुलिस क्लबसँग १–० ले नै पराजित हुँदै थ्रीस्टार अघिल्लो बर्ष पनि उप विजेता बनेको थियो ।
खप्तड गोल्डकपको ईतिहास यस्तो छ
(क) पहिलो संस्करण २०७३
भागेश्वर गुप्र सुदुरपश्चिम खप्तड गोल्डकप २०७३ मा ए डिभिजन क्लव मनाङ मस्याङ्दी च्याम्पीयन वनेको थियो । धनगढी रंगशालामा मनाङले काठमाण्डौको अर्को क्लव संकटालाई १–० ले किनारा लगाएर नगद ५ लाख सहित ट्रफी र प्रमाण हात पारेको थियो । उपविजेता बनेको संकटाले दुई लाख ५० हजार सहित सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको गरेको थियो ।
२०७३ सालको गोल्डकपको उत्कृष्ट खेलाडी मनाङका कप्तान अनिल गुरुङ भएका थिए । उत्कृष्ट खेलाडी वनेका उनले यमाहा मोटरसाईकल हात पारेका थिए । पहिलो संस्करणको गोल्डकपमा संकटाका गोरक्षक राजु नगरकोटी उत्कृष्ट गोरक्षक, मनाङका विराज महर्जन उत्कृष्ट रक्षक, डुक स्टार भुटानका केन्चो तावगे उत्कृष्ट स्ट्राईकर, सुदुरपश्चिम–११ का नरेन्द्र चौधरी उदयमान खेलाडी, मनाङका प्रशिक्षक छिरिङ लोप्चन गुरुङ उत्कृष्ट प्रशिक्षक र सुदुरपश्चिम–११ का मणीराम चौधरी सर्वाधिक गोलकर्ता भएका थिए ।
(ख) दोस्रो संस्करण
धनगढीमा भएको नेपाल आईस सुदूरपश्चिम खप्तड गोल्डकप २०७४ को उपाधि विभागीय टोली त्रिभुवन आर्मी क्लबले हात पारेको थियो । फाइनल खेलमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई पाखा लगाउँदै आर्मीले उपाधिमाथि कब्जा जमाएको थियो । आर्मीले एपीएफलाई पेनाल्टी सुट आउटमा ५–४ ले पराजित गरेको थियो । उपाधिसंगै आर्मीले नगद ११ लाख ११ हजार १ सय ११ सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको गरेको थियो भने एपिएफले ५ लाख ५५ हजार ५ सय ५५ सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको गरेको थियो ।
२०७४ सालको प्रतियिोगितामा आर्मीका कप्तान भरत खवासले उत्कृष्ट खेलाडी हुँदै यमाहा मोटरसाइकल पाएका थिए । यस्तै उत्कृष्ट गोलकिपर आर्मीका विकेश कुथु, उत्कृष्ट डिफेन्डर एपीएफका टोप विष्ट, उत्कृष्ट फरवार्ड आर्मीका सन्तोष तामाङ र राईजिङ प्लेयर सुदुरपश्चिम–११ का गोलकिपर अमानत शेख भएका थिए । सर्वाधिक गोलकर्ता एपिएफका अन्जन विष्ट भएका थिए ।
(ख) तेस्रो संस्करण
नेपाल पुलिस क्लबले तेस्रो नेपाल आईस अन्तरााष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्डकप २०७५ को उपाधि जितेको थियो । फाइनल खेलमा पुलिसले थ्रीस्टार क्लबलाई १–० गोलले पराजित गर्दै पुलिसले २१ लाख नगद सहित ट्रफी पाएको थियो भने थ्रीस्टारले १० लाख सहित ट्रफी पाएको थियो ।
२०७५ सालको गोल्डकपमा पुलिसका रवि पासवान प्रतियोगिताको सर्वोत्कृष्ट भएका थिए । उनल यामाहा मोटरसाईकल प्राप्त गरेका थिए । उत्कृष्ट प्रशिक्षकमा पुलिसका अनन्तराज थापा, डिफेन्डरमा पुलिसकै अजित भण्डारी तथा उत्कृष्ट गोलरक्षक पुलिसका शत्रुघन चौधरी, उत्कृष्ट मिडफिल्डर थ्री स्टारक विक्रम लामा र उदीयमान खेलाडी सुदूरपश्चिम–११ स्पोर्ट्स क्लबका भरत टमाटा भएका थिए । । पुलिसका तीर्थ रानाले सर्वाधिक गोलकर्ताको पुरस्कार पाएका थिए ।