काठमाडौं – अर्थमन्त्री डा. युवराज खतिवडासहित १८ जना सांसदको आजदेखि राष्ट्रियसभाको दुई बर्षे कार्यकाल पूरा भएको छ ।राष्ट्रपतिबाट मनोनित खतिवडासहित निर्वाचित भएका अरु १७ जना सांसदहरुको कार्यकाल पूरा भएपछि आजैदेखि बिदा भएका हुन् ।
कार्यकाल पूरा हुनेमा राष्ट्रपतिबाट मनोनित खतिवडासहित नेकपाका ९, कांग्रेसका ६, राजपाका २, समाजवादीका १ जना सांसद छन्।दुईवर्षे कार्यकाल सकिने नेकपाका सांसदहरुमा हरिचरण शिवाकोटी, बलराम बाँस्कोटा, मीना बुढा, युटोल तामाङ, राजकुमार कुँवर, कमलाकुमारी ओली, कालिबहादुर मल्ल र खेमराज नेपाली छन् ।
कांग्रेसबाट राष्ट्रिय सभामा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे, सचेतक सरिता प्रसाईं, विन्दादेवी आले, बद्री पाण्डे, मुक्ताकुमारी यादव र धनकुमारी खतिवडाको कार्यकाल सकिएको छ ।राजपाका वृशेषचन्द्र लाल र रमेशप्रसाद यादव तथा समाजवादीका रामप्रित पासवानको पनि २ वर्षे कार्यकाल सकिएको छ ।
राष्ट्रियसभा सदस्यहरुको कार्यकाल गोलाप्रथाबाट निश्चित गरिएको थियो । ५९ सदस्यीय राष्ट्रियसभामा कांग्रेसले १३ सिट पाएको थियो । गोलप्रथामा ८ जना कांग्रेस सांसद दुईवर्षे कार्यकालमा परेका थिए ।
दुईवर्षे कार्यकाल भएका कांग्रेसका सांसद दुर्गाप्रसाद उपाध्यायको निधन भइसकेकाले १८ जना राष्ट्रिय सभाबाट औपचारिक रुपमा बिदा भएका हुन् । यद्यपी राष्ट्रिय सभामा रिक्त रहेका सांसदको संख्या भने १९ हो ।
१८ जना सांसदको रिक्त रहेको ठाउँमा निर्वाचित राष्ट्रियसभा सदस्यको आजै सपथग्रहण हुँदैछ । माघ ९ गते सात वटै प्रदेशबाट चुनिएका नेकपाका १६ र राजपाका २ जना सांसद्को आज सपथ हुन लागेको हो ।