अत्तरिया - थारुहट थारुवान राष्ट्रिय मोर्चाले कैलाली कञ्चनपुर सहित तराईमा आमहड्तालको घोषणा गरेको छ । सरकारसँग १४ बुँदे माग राख्दै आन्दोलनरत मोर्चाले सरकारलाई दबाब दिनका लागि आज र भोली दुई दिन आमहड्तालको घोषणा गरेको हो ।
आफ्ना माग पुरा गराउन दोस्रो चरणको कार्यक्रम अन्तर्गत आमहड्तालको क्रममा कलकारखाना, उद्योगधन्दा, व्यापार व्यवसाय, शिक्षण संस्था लगायत यातायातका साधन पूर्ण रुपमा बन्द रहने जनाइएको छ । यद्धपी कैलालीको अत्तरियामा बजारमा आंशिक रुपमा बन्दको प्रभाव परेको छ । बजारमा रहेका केहि पसलहरु बाहेक सबै जसो पसलहरु संचालनमा रहेका छन् भने अत्तरियावाट पाहाडी जिल्लाहरुमा जाने गाडीहरु पनि संचालनमा रहेका छन् । अन्य दिनको तुलनमा चहलपहल केहि कम भएपनि बन्दको प्रभाव भने खासै परेको छैन ।
यस्तै अत्तरियावाट पूर्वी जिल्लाहरुमा जाने सवारी साधन नछुटेपनि अन्यत्रबाट भने आउने क्रम जारी रहेको छ । अत्तरिया बसपार्कमा रहेका बिभिन्न समितिका टिकट काउन्टरहरु भने बन्द रहेका छन् । आमहड्ताल अवज्ञागरी सवारी साधन चलाएमा उत्पन्न हुने परिस्थितिको सम्पूर्ण जिम्मेवारी नेपाल सरकार र स्वयम् रहने मोर्चाले यस अघि बिज्ञप्ती निकाल्दै जनाएको छ ।
आम हड्तालको समयावधिमा अतिआवश्यक सवारी साधनहरु, दमकल, एम्बुलेन्स, शव बाहन, सुरक्षा निकाय, दुध बोक्ने साधन, औषधीजन्य सवारी, रेडक्रस, मानव अधिकारकर्मी, पर्यटक, पत्रकार, कुटनीतिक नियोगका सवारी साधनहरु भने निर्वाध रुपमा सञ्चालन हुन पाउने बताइएको छ ।
रेशम चौधरीसहित ११ जना जेलबन्दीको रिहाइ गर्नुपर्ने, टीकापुर घटनाबारे सत्यतथ्य छानबिन गर्न पूर्व न्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको न्यायिक समिति, गृह मन्त्रालयद्वारा गठित अनुसन्धान विभागका पूर्व प्रमुख देवीराम शर्माको संयोजकत्वमा गठित छानबिन समितिको प्रतिवेदन र सर्वदलीय संसदीय समितिको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने लगायत माग राख्दै मोर्चा फागुन १ देखि आन्दोलनमा छ।
आन्दोलनमा आदिवासी जनजाति महासंघ, मिसन अम्बेडकर नेपाल, खसान संघर्ष समिति, खम्बुवान राष्ट्रिय मोर्चा, संघीय लोकतान्त्रिक मञ्च, नेपाल राष्ट्रिय पार्टी, संयुक्त खस क्षेत्री नेपाललगायत संघ संस्थाले ऐक्यबद्धता जनाएका छन्।