धनगढी - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सुदूरपश्चिम प्रदेश स्तरिय अगुवा कार्यकर्ता भेला धनगढीमा सम्पन्न भएको छ । नेकपा सुदूरपश्चिम प्रदेशका अध्यक्ष कर्ण थापाको अध्यक्षतामा भएको कार्यक्रममा नेकपाका शिर्ष नेताहरु सहभागी रहेका थिए ।
भेलालाई सम्बोधन गर्दै नेकपाका बरिष्ठ नेता माधव कुमार नेपालले सरकार पार्टीको बिधान र उद्देश्य अनुसार चल्नुपर्ने बताए । उनले पार्टीले चुनावी एजेण्डा बनाए अनुसार सरकारले काम गर्नुपर्ने हुँदा अन्तमा पार्टीकै निर्देशनमा सरकार चल्नुको बिकल्प नरहेकोे जिकीर गरे । सरकार गलत दिशामा गएपनि पार्टीले नै सही दिशातर्फ ल्याउन निर्देशन गर्ने हुँदा पार्टीको निर्देशन बिना सरकार चल्न नसक्ने उनको तर्क छ ।
यस्तै भेलालाई सम्बोधन गर्दै नेकपा सचिवालय सदस्य तथा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जनताको सत्ता ल्याउनका लागी पार्टी एकता गरेको बताए । कम्युनिस्ट पार्टी भएका कारण सामाजिक न्याय सहितको सम्बृद्धीको लक्ष पुरा गर्नै पर्ने श्रेष्ठको भनाई छ । यस्तै उपप्रधानमन्त्री एवं रक्षा मन्त्री ईश्वर पोखरेलले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आंकाक्षा पुरा गर्न सरकारले पाँच वटा आधार अघि सारेर काम गरिरहेको बताए ।
पार्टीका सचिवालय सदस्य समेत रहेका उनले मुलुकको आवश्यकता र जनताको चाहना पुरा गर्न दुई कम्युनिष्ट पार्टी (तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्र) का बीच एकता भएको बताए ।
मुलुकको बिकास र समृद्धिका लागि सरकारले कृषिमा आधुनिकरण, उद्योग ग्राम स्थापना, उर्जाको बिकास, पूर्वाधार बिकास (शिक्षा, स्वास्थ्य, यातायात) र पर्यटन प्रवद्र्धन बिकासको आधार अघि सारेर अघि बढीरहेको उनको भनाई छ । कार्यक्रमलाई उधोग वाणिज्य तथा आपूर्तीमन्त्री लेखराज भट्ट , सुदूरपश्चिम सहइन्चार्जहरु, प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट लगायतकाले सम्बोधन गरेका थिए ।