अत्तरिया - कैलालीको अत्तरियामा यहि फागुन २२ गते देखी सुदूरपश्चिम राजधानी कप खुल्ला फुटबल प्रतियोगिता हुने भएको छ । पिएफए स्पोट्स क्लबको आयोजनामा फागुन २२ गतेदेखी २८ गतेसम्म राजधानी कप हुन लागेको आज पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको छ ।
सुदुरपश्चिम प्रदेशलाई फुटबलको शहर भनि देशब्यापी रुपमा परिचित गराउन प्रतियोगिताको आयोजना गरिएको पिएफए स्पोट्स क्लबले जनाएको छ । अत्तरिया स्थित मालिका खेल मैदानमा हुने प्रतियोगिताको बिजेतालाई ४ लाख र उप बिजेताले २ लाख नगद सहित ट्रफी , मेडल तथा प्रमाण पत्र प्रदान गरिने छ ।
यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडिले नगद २५ हजार प्राप्त गर्ने छन् भने उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेण्डर , सर्बाधिक गोलकर्ता र उदयमान खेलाडिलाई जनही रु १५÷१५ हजार पुरस्कार प्रदान गरिने छ । त्यसै प्रतियोगितामा प्रत्येक खेलको म्यान अफ दि म्याचले नगद ३ हजार हात पार्ने छन् ।
प्रतियोगिताको प्रायोजकहरुमा गोदावरी नगरपालिका , सुदुरपश्चिम सामाजिक विकास मन्त्रालय , जर्नल इन्सुरेन्स कम्पनी , रिलायन्स इन्सुरेन्स कम्पनी ,भागेश्वर गु्रप र राष्ट्रिय खेलकुद परिषद रहेको छन् भने सहयोगी संघसंस्थामा जिल्ला खेलकुद संघ कैलाली , कैलाली जिल्ला फुटबल संघ र अखिल नेपाल फुटबल संघ रहेका छन् ।
सुदूरपश्चिमभरिका कुल ११ वटाले सहभागिता जनाउने प्रतियोगितामा एन्फा तथा फिफाको नियम अनुसार खेलहरु खेलाइने क्लबका अध्यक्ष योगेश भट्टले जानकारी दिए । पिएफए स्पोट्स क्लबले यस अघि पहिलो संस्करणको राजधानी कप सफलताका साथ सम्पन्न गरेको थियो ।