काठमाडौं – स्वास्थ्यमन्त्री भानुभक्त ढकालले आइतवार मन्त्रालयमा पत्रकार सम्मेलन गरेर तत्कालका लागि ठूला सभा, सम्मेलन, भोजभतेर सहितका कार्यक्रम नगर्न आह्वान गरेका छन् ।
चीनबाट फैलिएको कोरोना भाइरसको उच्च जोखिममा नेपाल पनि रहेको चेतावनी विश्व स्वास्थ्य संगठनले दिएपछि सरकारले सतर्कता अपनाउन थालेको छ । कोरोना भाइरसको जोखिम बढ्दै गएपछि सरकारले महोत्सव, सभा समारोह जस्ता भीडभाड हुने कार्य नगर्न आह्वान गरेको हो । ’कोरोनाको जोखिम कम गर्न केही समयका लागि महोत्सव, सभा–समारोह जस्ता भिडभाड हुने कार्यक्रम नगर्न आमसर्वसाधारण र आयोजकहरुलाई आह्वान गर्दैछौँ’, ढकालले भने, ’अफ्ठ्यारो अवस्थामा आएमा अन्तराष्ट्रिय हवाई उडान पनि रोकिनेछ ।’
सरकारले काठमाडौंको चन्द्रागिरिमा गर्न लागिएको बहुप्रतिक्षित सगरमाथा सम्वाद कार्यक्रम पनि तत्काललाई स्थगित गर्ने मनस्थिति मा पुगेको छ । ’अप्ठ्यारो अवस्था आए सगरमाथा सम्वाद समेत तत्कालका लागि स्थगित हुनसक्छ’, उनले भने, ’देशलाई विश्व सँग जोड्ने त्रिभुवन विमानस्थलमा स्वास्थ्य जाँचलाई अझै कडा बनाउँदैछौं ।’ ढकालले त्रिभुवन विमानस्थलबाट बाहिरिने र भित्रिने दुवैको स्वास्थ्य जाँच गरिने बताए ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलन हुँदै भित्रिने सबैको यात्रुको अनिवार्य स्वास्थ्य परीक्षण गर्ने तयारी सरकार रहेको उनले बताए । अहिले त्रिभुवन विमानस्थलमा ६ वटा थरमल स्क्रयानर राखिएको उनले बताए । ’केही समय एयर्पोट पूरै बन्द गर्ने कि भन्नेबारे पनि छलफल भइरहेको छ’, उनले भने, ’तर यसबारेमा निचोडमा पुगिसकेका छैनौँ ।’