डोटी - पूर्व नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघका डोटी जिल्ला सह–संयोजक सहित सिलगढीको एउटा पुरै टोलबासी कांग्रेसमा प्रवेश भएका छन । युवा संघका जिल्ला सह–संयोजक दिनेश केसीसहित दिपायल सिलगढी नगरपालिका–६ को खलङ्गा टोलका बासिन्दा कांग्रेस प्रवेश गरेका हुन् ।
सो टोलबाट केसी सहित नेकपाका जिल्ला कमिटी सदस्य हरिमाया धामी लगायतका ५० जनाभन्दा बढी स्थानीयबासीन्दा कांग्रेस प्रबेश गरेको कांग्रेस क्षेत्रीय सभापति विजय खड्काले जानकारी दिए । उनका अनुसार सो टोलबासी यसअघि नेकपामा आवद्ध रहदै आएका थिए ।
उनीहरु सबैलाई सोही टोलमा आयोजित एक कार्यक्रमका बीच नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता डा. रणबहादुर रावलले सदस्यता वितरण गर्दै स्वागत गरेका छन् ।
पार्टी प्रवेशपछि युवानेता केसीले आफु देश र समाजको भविष्यलाई हेरेर कांग्रेस प्रवेश गरेको बताए । ‘म कुनै व्यक्तीगत स्वार्थले कांग्रेस प्रवेश गरेको होईन्,’ उनले भने,‘स्वार्थ बोकेको भए अहिले कम्यूनिष्टबाटै बढी पाउथे ।’
कम्यूनिष्ट पार्टीले राज्य सञ्चालनका क्रममा गरिरहेको भ्रष्टाचार, बदमासी, घुसखोरी र अपराध देखेर मुलूकको भविष्य निकै दयनिय अवस्थामा पुगेको उनले दाबी गरे । ‘मैले त्यहाँ बसेर जो देखे त्यसले समाज र देशको भविष्य अन्धकारतर्फ धकेलिरहेको पाए । त्यसैले त्यसबाट जोगाउन कांग्रेस प्रवेश गरेको हुँ,’ उनले भने ।
नेतृ धामीले अपराध, भ्रष्टाचार, थिचोमिचोले कम्यूनिष्ट सरकार र पार्टी ग्रस्त भएको र जसको हिस्सा आफु बन्न नसक्ने भएकाले पार्टी त्यागेको बताईन् ।