काठमाण्डौं – सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि ७० करोड कमिसन डिल गरेको भनिएको अडियो सार्वजनिक भएपछि सञ्चारमन्त्रीबाट राजीनामा दिएका गोकुल बाँस्कोटा मुद्दा दर्ता गरेका छन । बाँस्कोटाले अडियो सार्वजनिक गर्ने स्विस कम्पनीका एजेन्ट भनिएका विजयप्रकाश मिश्रविरुद्ध शुक्रवार काठमाडौं जिल्ला अदालतमा गाली बेइज्जतीको मुद्दा दायर गरेका हुन् । बाँस्कोटाका तर्फबाट वारेस राजेन्द्र बोगटीले शुक्रवार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेका हुन् ।
७ पृष्ठ लामो फिराद पत्रमा बाँस्कोटाले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ को नाम २ पटक उल्लेख गरेका छन् । प्रचण्डको नाम उल्लेख भएपनि सुरक्षण मुद्रण विकास समिति गठनयताका अन्य प्रधानमन्त्री र तिनका पालामा अघि बढेका प्रक्रिया र भएका निर्णयहरूबारे भने केही उल्लेख छैन । जबकि यसबीचमा सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि टेण्डर समेत भइसकेकोमा त्यसलाई रद्द गरी वर्तमान सरकारले जीटूजी (सरकार र सरकारबीच) सम्झौता गर्ने निर्णय गरेको थियो । यसो गरेर लागत बढाइएको आरोप विपक्षीहरूले लगाउँदै आएका छन् ।
पहिलोपटक बाँस्कोटाले फिराद पत्रको बुँदा नम्बर ३ मा प्रचण्डको नाम उल्लेख गरेका छन् । उक्त बुँदामा सुरक्षण मुद्रण विकास समितिको गठन प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्को निर्णयको आधारमा भएको उल्लेख छ । तर, बाँस्कोटा जोडिएको प्रकरण भने विकास समिति गठन भइसकेर खरिद प्रक्रिया समेत अघि बढिसकेपछिको हो ।
’म संलग्न भएको मन्त्रिमण्डल गठन हुनु अगावै वि.सं. २०७३ कार्तिकमा तत्कालीन अवस्थामा मौजुदा रहेको प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ नेतृत्वको मन्त्रिपरिषद्ले सुरक्षण मुद्रण विकास समिति गठन गर्ने निर्णय गरेको रहेछ । सोही निर्णयबमोजिम २०७३ कार्तिक ८ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरी सुरक्षण मुद्रण विकास समिति (गठन) आदेश, २०७३ मार्फत सुरक्षण मुद्रण विकास समिति गठन भएको रहेछ । उक्त सुरक्षण मुद्रण विकास समिति (गठन) आदेश, २०७३ को दफा ५ बमोजिम सुरक्षण मुद्रणसम्बन्धी सम्पूर्ण कामहरू सुरक्षण मुद्रण केन्द्रबाट सम्पादन गर्नेगरी उल्लेख गरिएको रहेछ,’ बाँस्कोटाका तर्फबाट दायर मुद्दाको बुँदा नम्बर ३ मा भनिएको छ ।
दोस्रोपटक प्रचण्डको नाम बाँस्कोटाले बुँदा नम्बर ७ मा उल्लेख गरेका छन, जसमा प्रचण्ड लगानी बोर्डको अध्यक्ष (बहालवाला प्रधानमन्त्री लगानी बोर्डमा पदेन अध्यक्ष हुन्छन) रहेको बेलामा पत्र प्राप्त व्यक्तिका रूपमा मिश्रले आफूसँग परिचय गरेको भनेर उल्लेख गरिएको छ ।
मिश्रले आफूसँग भेटेपनि नाजायज प्रस्ताव राखेपछि अस्वीकार गरेको उल्लेख बाँस्कोटाले गरेका छन, जबकि बाँस्कोटासँग त्यही बेला भएको संवाद भनी सार्वजनिक भिडियोलाई भने उनले ’फेक’ भनेका छन् ।