डडेल्धुरा – बुधबारबाट सुदूरपश्चिम भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबार डडेल्धुरामा रहेको सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपिठ उग्रतारा मन्दिरमा माता भगवतीको दर्शन गरेकी छिन।
राष्ट्रपति भण्डारीले आज विहान ११ बजे अमरगढी नगरपालिका–८ मा रहेको प्रसिद्ध उग्रतारा भगवतीको मन्दिरको दर्शन गरेकी हुन् । जिल्ला सदरमुकाम भन्दा पाँच किलोमिटर टाढा उत्तरतर्फ महाकाली राजमार्गको छेउमै अमरगढी नगरपालिका–८ मा रहेको उग्रतारा मन्दिरमा पुगि राष्ट्रपति भण्डारीले माता भगवतीको दर्शन गर्ने भएपछि सुरक्षा व्यवस्था कडा पारिएको थियो ।
राष्ट्रपति भण्डारीलाई अमरगढी नगरपालिकाले नागरिक अभिनन्दन गरी सम्मान स्वरुप उपहार प्रदान गरेको थियो भने जिल्ला समन्वय समिति डडेल्धुराका तर्फबाट मायाको चिनो प्रदान गरिएको थियो । साथै जिल्ला सदरमुकाममा रहेको क्याम्व्रिज पब्लिक बोर्डिङ स्कुलले पनि मायाको चिनो प्रदान गरेको थियो ।
राष्ट्रपतिको उग्रतारा मन्दिर दर्शनका बेला जनप्रतिनिधि लगायत कर्मचारी मन्दिरका पुजारी, धामी, भ्रणिया, लौगटिया, उग्रतारमा रहेको वेदविद्याश्रमा अध्ययनरत बटुक लगायत उग्रतारा क्षेत्र विकास समिति पदाधिकारी, पूर्व पदाधिकारीहरूले स्वागत गरेका थिए। साथै राष्ट्रिपति भण्डारीलाई यहाँका फाग (सगुन) गाएर बाजागाजा सहित स्वागत गरिएको थियो ।
सुदूरपश्चिम सौन्दर्यले भरिपूर्ण ः राष्ट्रपति भण्डारी
राष्ट्रपति विद्यादेवि भण्डारीले सुदूरपश्चिम पाकृतिक रुपमा सौन्दर्यले भरिपूर्ण र रमणिय क्षेत्र भएको बताएकी छन् । शुक्रबार डडेल्धुराको प्रसिद्ध उग्रतारा भगवती मन्दिरको दर्शन गर्दै राष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन ।
‘सुदूरपश्चिम प्रदेश प्राकृतिक सौन्दर्य, सांस्कृतिक पक्षले भरिपूर्ण प्रदेश छ ।’ उनले भनिन, ‘डडेल्धुरा सहित समग्र सुदूरपश्चिमको विकासका लागि नेपाल सरकार लागि परेको छ ।’
राष्ट्रपति भण्डारीले आफू डडेल्धुरामा यसअघि पनि आएको बताइन् । तर, राष्ट्रपति भएर भने पहिलो पटक डडेल्धुरामा आएको सुनाइन् । राष्ट्रपति भण्डारीले बिहीबार बैतडीको त्रिपुरा सुन्दरी र दार्चुलाको मालिकार्जुन मन्दिरमा पूजापाठसंगै दर्शन गरेकी थिइन् ।
हेलिकोप्टर मार्फत डडेल्धुराको उग्रतारा मन्दिर पुगेपछि उग्रतारा माताको दर्शन गरेर उनी शुक्रबार नै कञ्चनपुर प्रस्तान गरेकी छन । राष्ट्रपतिको उपस्थितिमा शुक्रबार ‘तेस्रो शुक्लाफाँटा पर्यटन महोत्सव’ आयोजक भीमदत्त नगरपालिकाले मझगाउँ स्थित विमानस्थलमा विशेष समारोहको आयोजना गरिँदै छ ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयको प्रवेशद्वार नजिक विमानस्थल मैदानमा आयोजना हुने कार्यक्रमलाई राष्ट्रपति भण्डारीले सम्बोधन गर्नेछन् । राष्ट्रपति भण्डारी शुक्रबार दिउँसो १ बजे मझगाउँ विमानस्थलको कार्यक्रममा सहभागी हुने कार्यक्रम तय गरिएको छ । उनि १७ गते काठमाडौँ फर्किने कार्यक्रम रहेको छ ।