एजेन्सी – कोविड–१९ भनिने कोरोनाभाइरसको संक्रमण फैलिँदै जाँदा चीनबाहिर दैनिक केसको संख्या चीनभित्र भन्दा बढेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
बुधवार युरोपेली मुलुकहरू डेनमार्क र एस्टोनियामा पनि कोरोनाभाइरसका केसको पुष्टि भएको छ । यस सँगै भाइरस लगभग ५० वटा देशमा पुगेको छ । अहिले सम्म ३५ सय संक्रमण र कम्तीमा ५७ मृत्यु दर्ज भइसकेका छन् । भाइरस एन्टार्कटिका बाहेक सबै महादेशमा पुगिसकेको छ ।
दक्षिण कोरियामा कोरोनाका गम्भीर रोगीहरूलाई दाएगु शहर र उत्तरी ग्योङसाङ प्रान्तबाट राजधानी सउल सारिने सउलका मेयरले बताएका छन् ।
मुलुकको दक्षिणी भागमा रहेको दाएगुमा एक क्रिस्चियन समूहका मानिसमा कोरोनाभाइरस फैलिएको छ । कोरोनाका कारण अस्पतालमा बेडको अभाव भएको छ ।
दक्षिण कोरियामा कोरोनाका १५ सय ९५ केस छन् र १३ जनाको मृत्यु भइसकेको छ । यो संख्या लगातार बढिरहेको छ ।
उता इरानमा कोरोनाका १३९ केस र १९ मृत्युको खबर छ ।
कोरोनाले वर्वाधिक असर पारेका क्षेत्र यी हुन् :
अफ्रिका -अल्जेरिया, इजिप्ट दुवैमा एक एक केस
एसिया -चीन, ७८ हजार ४९७ केस, २७ सय ४४ मृत्यु
एसिया (चीन बाहिर) - दक्षिण कोरिया १५ सय ९५ केस, १३ मृत्यु
अस्ट्रेलेसिया - अस्ट्रेलिया, २२ केस
युरोप - इटली, ४०० केस, १२ मृत्यु
पश्चिम एसिया -इरान, १४० केस, १९ मृत्यु
उत्तर अमेरिका - अमेरिका, ६० केस
दक्षिण अमेरिका - ब्राजिल, १ केस