कैलाली - जनताका गुनासा ठाउँको ठाउँ सम्बोधन गर्दै सरकार भएको अनुभुती दिलाउने उद्देश्य सहित २०७५ जेठ ७ गते देखी सुरु भएको सुदूरपश्चिम प्रदेश सरकारको हेलो सिएम कार्यक्रममा ५ महिनामा जम्मा ८ वटा मात्रै उजुरी परेका छन्।
सरकारलाई जनताप्रति उत्तरदायी गराउन र जनतालाई प्रदेश सरकारको अनुभूति दिलाउने उद्देश्यले कार्यक्रम सुरु गरिएको भएपनि गुनासाको सुनुवाई नहुँदा हेलो सिएम टेलिफोनमा गुनासा आउन छोडेका हुन्। तर मूख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले भने ९० प्रतिशत गुनासाको सम्बोघन भइसकेको दावी गरेको छ।
सुदूरपश्चिम सरकारले गत जेठमा तामझामका साथ सुरु गरेको हेलो सिएम कार्यक्रममा गुनासा आउन छोडेका हुन्। सुरु सुरुमा हेलो सिएम टेलिफोन मार्फत दर्जनौं उजुरी एकै दिन आउने गरेकोमा पछिल्लो समय भने महिनामा एक दुई गुनासा मुस्किलले आउने गरेको मूख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ ।
सुरुमा हेलो सिएममा दैनिक ३५ वटासम्म उजुरी आएको भएपनि पछिल्लो समय महिनामा मुस्किलले एक दुई वटा गुनासा आउने गरेको मुख्यमन्त्री कार्यालयका प्रबक्ता मानसिंह विष्टले बताए । प्रवक्ता विष्टका अनुसार गत मंसिर यता जम्मा ८ वटा गुनासा हेलो सिएम टेलिफोन मार्फत आएका छन्।
तर तिनको पनि सुनुवाई भए नभएको भने कार्यालय संगै तथ्याङ्क छैन । प्रबक्ता विष्टका अनुसार मंसिरमा २, पुषमा २, माघमा १, फागुनमा २ र चैत महिनामा १ वटा उजुरी हेलो सिएम टेलिफोन मार्फत सर्वसाधारणले दर्ता गराएका छन् । जवकी गत जेठ महिनामा एकै दिन विभिन्न समस्या राख्दै सर्वसाधारणले ३५ ओटा सम्म उजुरी हेलो सिएम मार्फत दर्ता गराएका थिए।
धनगढी उप–महानगरपालिका वडा नम्बर–४ का प्रमोद भट्टले जनताका समस्या समाधानका लागि मुख्यमन्त्रीले चासो नदिएको आरोप लगाए। ‘सुरुमा तत्काल समस्या समाधान गछौं भन्दै प्रचार गरियो’ उनले भने–‘तर जसरी प्रचार गरिएको थियो त्यसरी जनताले गर्ने गुनासा सम्बोधनमा मुख्यमन्त्रीको ध्यान जान सकेन, गुनासा नै कार्यान्वयन नभएपछि किन उजुरी दिनु ?’ आफ्ना वडाका विभिन्न समस्या समाधानका लागि हेलो सिएम मार्फत मुख्यमन्त्री कार्यालयमा ५–६ वटा उजुरी दर्ता गराएको भएपनि कुनै गुनासा कार्यान्वयन नभएको उनले दुखेसो
गरे।
‘टोलमा हुने समस्या समाधानका लागि अन्य निकायले नसुनेका कारण मुख्यमन्त्रीबाट समाधानको आसा गर्दै गुनासो गरेका थियौं’ उनले भने–‘हामीले टिपाएका समस्या तत्काल समाधान गर्न सकिने खालका थिए, एउटाको पनि समाधान भएन, प्रदेश सरकारले केही गर्छ भन्ने आसा जागेका जनताको विश्वास माथी सरकारले घात गरेको छ।’
धनगढी वडा नम्बर–५ का कमल जोशीले पनि हेलो सिएमले जनताका गुनासा सम्बोधन गर्ने भन्दै मुख्यमन्त्रीले आस्वासन बाँडे पनि व्यवहारमा लागु नगरेको आरोप लगाए।
‘आफ्ना व्यक्तिगत नभई समाजको भलो हुने खालका समस्या हामीले हेलो सिएम टेलिफोन मार्फत पटक–पटक गुनासा टिपाई सक्यौ’ उनले भने–‘तर अहिले सम्म एउटा पनि गुनासो कार्यान्वयन हुन सकेको छैन, अव त गुनासो टिपाउन पनि छोडि सक्यौं।’ जनताले टिपाउने गुनासा तत्काल सम्बोधन हुन्छ भन्दै प्रचारवाजी गरेर सस्तो लोकप्रियता कमाउन मात्रै हेलो सिएम सञ्चालन गरे जस्तो देखिएको उनको भनाई छ।
मुख्यमन्त्री कार्यालयका प्रबक्ता मान सिंह विष्टका अनुसार प्रदेश सरकारले सञ्चालनमा ल्याएको हेलो सिएम टेलिफोन सेवामा जेठ महिनामा ८८ वटा उजुरी परेका थिए । यसै गरी अषाढमा ३१ तथा साउनमा १७ उजुरी परो थिए भने भदौ महिनामा जम्मा ५ वटा मात्रै उजुरी परेका थिए । असोज महिनामा १७ उजुरी दर्ता भएकोमा कार्तिक र मंसिरमा भने जम्मा ५ वटा मात्रै उजुरी दर्ता भएको प्रबक्ता विष्टले बताए।
हेलो सिएम टेलिफोन मार्फत हाल सम्म एक सय ६९ उजुरी परेका छन् । तर तिनको कार्यान्वयनको अवस्थाका बारेमा भने कुनै निकाय संग तथ्यांक नै छैन । उजुरीको तथ्याङ्क राख्ने गरेको मुख्यमन्त्री कार्यालयसंग समेत हाल सम्म उजुरी कायान्वयनको तथ्याङ्क भने छैन।
प्रबक्ता विष्टका अनुसार हेलो सिएम मार्फत आउने गुनासा कार्यान्वयन गर्न सम्बन्धित कार्यालयलाई आग्रह गरिने हुँदा कार्यान्वनयको तथ्याङ्क आउन सकेको छैन । तर कार्यालयले गरेको अनुमान अनुसार ९० प्रतिशत गुनासा सम्बोधन हुने गरेको प्रबक्ता विष्टले बताए । सर्वसाधारणबाट आउने गुनासा छनौट गरी कार्यान्वयनका लागि सम्बन्धीत कार्यालयमा पठाइने गरेको प्रबक्ता विष्टले बताए ।
उनले गुनासा कार्यान्वनय गर्ने निकायले कार्यान्वयन भए नभएको जानकारी मुख्यमन्त्री कार्यालय समक्ष उपलब्ध नगराएका कारण कार्यान्वनयको अवस्थाबारेमा जानकारी हुन नसकेको बताए । देशसंञ्चारवाट साभार