धनगढी - कैलालीको धनगढीमा बुधवार देखी आयोजना हुन गैरहेको विश्व नेपाली साहित्य महोत्सवको तयारी तिब्र पारिएको छ । सुदूरपश्चिमाञ्चल साहित्य समाजको आयोजनामा यहि फागुन १४ गते बुधवार देखी २० गते सम्म हुने महोत्सबको तयारी तिब्र पारिएको हो ।
आयोजकले महोत्सवको लोगो तथा कार्यक्रम तालिकासमेत सार्वजनिक गरेको छ। महोत्सवमा देशभित्र र विश्वका विभिन्न मुलुकका नेपाली भाषी साहित्यकारहरू सहित पाँच सयभन्दा बढीको सहभागिता रहने जनाइएको छ।
महोत्सवमा भारतको आसाम, नागाल्याण्ड, मिजोरम, सिक्किम, उत्तराखण्ड, पश्चिम बंगालसहितका विभिन्न राज्यका साथै बर्मा, अष्ट्रेलिया, अमेरिकासहितका मुलुकबाट नेपालीभाषी साहित्यकारहरू सहभागी हुनेछन्। कार्यक्रम तालिका अनुसार १४ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट महोत्सवको उद्घाटन गरिनेछ ।
महोत्सवको औपचारिक उद्घाटन अघि धनगढी स्थित त्रिनगर माविको प्राङ्गणबाट बाजागाजा र झाँकीसहितको यालीले बजार परिक्रमा गरेर कार्यक्रमस्थलमा पुग्ने उल्लेख छ। महोत्सव उद्घाटन समारोहमा सुदूरपश्चिम प्रदेशका विभिन्न सांस्कृतिक झाँकी प्रदर्शन हुनेछ।
त्यस्तै राष्ट्रकवि माधव घिमिरे, शताब्दी पुरुष सत्यमोहन जोशी, वरिष्ठ साहित्यकार लिलबहादुर क्षेत्री, भारत सिक्किमका पूर्वमुख्यमन्त्री तथा साहित्यकार पवन चामलिङ लगायतका विशिष्ट स्रस्टाहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरिने कार्यक्रम रहेको छ। महोत्सवमा साहित्य, कला, भाषा, संस्कृति, राजनीति र विकास लगायतका विषयमा ४३ भन्दा बढी बहस सत्र सञ्चालन हुनेछन् ।