डडेल्धुरा – बिहीबार राती देखि मौसममा आएको परीवर्तन संगै डडेल्धुरा महोत्सव प्रभावीत बनेको छ । नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न सुरु भएको चौथो डडेल्धुरा महोत्सव लगातारको झरी र हावाहुरीले प्रभावीत भएको हो ।
हावाहुरीले महोत्सवमा बनाइएका स्टेज, स्टल, प्रवेशद्धार ढलेका छन् । डडेल्धुरा उद्योग वाणिज्य संघ डडेल्धुराले भ्रमण वर्षलाई सफल बनाउन र यहाँका ऐतिहासिक पुरातात्विक सांस्कृतिक धार्मिक एवं पर्यटकीय स्थलको प्रवर्द्धन गर्न आयोजना गरिएको महोत्सवको बिहीबार सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहोराले उद्घाटन गरेका थिए ।
‘सुखी नेपाली समृद्ध नेपाल ः कृषि पर्यटन उद्योग र व्यापार, समृद्धिको आधार’ भन्ने मूल नाराका साथ फागुन ८ गते देखि १८ गतेसम्म आयोजना हुने छ । मौसम आएको खराविका कारण महोत्सव प्रभावित भएको र मौसम सफा हुने वितिक्कै महोत्सव संचालनमा आउने उद्योग वाणिज्य संघ डडेल्धुराका अध्यक्ष लोकराज भट्टले बताए ।
‘महोत्सवमा बनाइएका स्टेज, स्टल, प्रवेशद्धारमा सामान्य क्षति पुगेको छ । यो एक÷दुई घण्टामा बनाउँन सकिन्छ ।’ उनले भने, ‘आजका लागि तय भएका कलाकार जिल्लाका पुगिसकेका छन् । भोली पर्सि आउने कलाकारहरुलाई मौसम सुधार भएपछि मात्र बोलाउँर्छौँ ।’
डडेल्धुरामा आज वर्षा ५ मिलिमिटर जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महोत्सवमा लोक दोहरी हाँस्यव्यंग्य, स्थानीय लोक देउडा तथा नृत्य र साँस्कृतिक कार्यक्रम, स्थानीय उत्पादन, पर्यटक लक्षित संस्कृति भेषभूषा तथा ऐतिहासिक पुरातात्विक प्राकृतिक धार्मिक विभिन्न पर्यटकीय क्षेत्रको उजागर र प्रचार–प्रसार गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो ।
राष्ट्रिय कलाकार सँगै सुदूरपश्चिम प्रदेशका कलाकारको महोत्सवमा विशेष प्रस्तुति रहने संघले जनाएको छ । महोत्सवमा बडालको चौलो, मारूनी नृत्य, छलिया नृत्य महिला परूष देउडा, झाँकी प्रदर्शन गरिने जनाइएको छ । महोत्सवमा माडा, रोटी, कोदाको रोटी, डुब्का लगायतका डोटेली खानाका विशेष परिकारहरू रहनेछन् ।
अमरगढी नगरपालिका–४ टुँडिखेलमा आयोजना भएको महोत्सवमा सर्वसाधारणका लागि ६० विद्यार्थीका लागि ४० रुपैयाँ टिकट शुल्क निर्धारण गरिएको छ। ‘क’ र ‘ख’ वर्गका अपाङता भएकालाई परिचयपत्रका आधारमा निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ ।
महोत्सवको टिकटबाट उठ्ने पैसाको १० प्रतिशत रकम डडेल्धुरा बहुमुखी क्याम्पसमा प्रविधिक शिक्षा संचालन गर्न र डडेल्धुरामा हावाई मैदान निर्माणका लागि खर्च गरिने आयोजकले जनाएको छ । २ लाख मान्छेले महोत्वसको अवलोकन गर्ने आयोजकको दाबी छ ।
(फोटो फिचर)