अत्तरिया – कैलालीको गोदावरी नगरपालिका ६ लालपुरको कोलीकटान दलित बस्तीमा शिव मन्दिर निर्माण गरिएको छ । निर्माण सम्पन्न गरिएको शिव मन्दिरमा शुक्रबार एक कार्यक्रमका विच पुजाआजा गरी मन्दिरको सुभारम्भ गरिनुका साथै मन्दिरमा शिव लिङ्ग, शिव मुर्ति समेत स्थापना गरिएको छ ।
मन्दिरको शुभारम्भको अवसरमा मन्दिरमा पुजाआजा संगै मन्दिरको प्राङ्गणमा एक कार्यक्रमको आयोजना पनि गरिएको थियो । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गोरे कोलीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सांसद चुन कुमारी चौधरी प्रमुख अतिथि रहेकी थिईन ।
कार्यक्रममा बोल्दै सांसद चौधरीले भोतिक विकास संग संगै मानिसको सोचको विकास हुन आवश्यक रहेको बताईन । उनले मानिसका २ ओटा मात्रै जात महिला–पुरुष हुने भएकाले अन्य कुरामा बिभाजन भएर सानो ठुलो जात भन्न नहुने बताईन । ‘सबैले मन्दिरमा समान रुपमा पुजा गर्न पाउनु पर्छ ।’ सांसद चौधरीले भनीन् – ‘सबैले नकारात्मक सोच हटाएर समानताको भावना लिन आवश्यक छ ।’
कार्यक्रममा बिशिष्ट अथिथि रहेकी गोदावरी नगरपालिकाकी उपप्रमुख रत्ना कडायतले दलित बस्तीमा मन्दिर निर्माण हुनु राम्रो कामको सुरुवात भएको बताईन । उनले मन्दिरको विकासका लागि आफूले नगरपालिकाबाट सक्दो सहयोग गर्ने बताईन ।
कार्यक्रममा नेकपा गोदावरी नगर कमिटि अध्यक्ष गोकर्ण भट्टले जातका कुराले हुने विभेद अन्त्य हुनुपर्ने बताए । ‘हिन्दुहरुको सबैभन्दा ठुलो ग्रन्थ बेदमा पनि जातका कुरा कहि पनि लेखिएको छैन ।’ अध्यक्ष भट्टले भने – ‘अहिले हिन्दु धर्मलाई बङ्ग्याएर जातपातका कुरा गरिएको छ । यसलाई टाठाबाठाले आ–आफ्ना किसिमले व्याख्या गरेकाले यसको अन्त्य गरिनु पर्छ ।’
कार्यक्रममा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कोलीले दलितहरुले पनि मन्दिरमा सहज रुपमा पुजा गर्न पाउन भन्नका लागि मन्दिरको स्थापना गरिएको बताए । उनले १ हजार भन्दा बढी परिवार दलित रहेपनि गाउँमा मन्दिर नहुँदा चाडपर्वका बेला समस्या हुने भएकाले मन्दिरको स्थापना गरिएको बताए । उनले मन्दिर निर्माणका लागि १ लाख वडा कार्यालय र बाकी रकम स्थानियबाट चन्दा संकलन गरी करिब तिन लाखको लागतमा मन्दिरको निर्माण गरिएको बताए ।
६ बर्ष पहिले नै मन्दिर निर्माण गर्ने भनेर जोगी कोलीले आधा कट्टा जग्गा मन्दिरको लागि दान गरेको भएपनि बिभिन्न कारणले मन्दिरको काम रोकिएको व्यवस्थापन समितिका अध्यक्ष कोलीले बताए । स्थानिय रतन कोलीले स्वागत मन्त्यव्य राखेको कार्यक्रमको संचालन चक्र बिकले गरेका थिए ।

गाउँकै मन्दिरमा पुजाआजा गर्न पाउँदा स्थानिय हर्षित
स्थानिय देउमा कोलीले जिवनमै पहिलो पटक मन्दिर भित्र पसेर पुजाआजा गरेको बताईन् । ४८ बर्षकी कोलीले धेरै पहिले मन्दिरमा गएको भएपनि बाहिरैबाट पुजा गरेको बतार्ईन । अहिले मन्दिर भित्र गएर पुजा गर्न पाउँदा आफूलाई निकै खुसि लागको बताईन ।
स्थानिय सपना कोलीले आफ्नौ गाउँमा निर्माण गरिएको मन्दिरमा पुजा गर्न पाउँदा खुसि लागेको बताईन । उनले असअघिका बर्षमा अत्तरियामा रहेको शिव मन्दिरमा पुजा गर्ने जाने भएपनि यस बर्ष भने गाउँमै मन्दिर बनेकाले पुजा गर्न सहज भएको बताईन । उनले अत्तरियामा रहेको शिव मन्दिरमा भने कुनै विभेद नरहेको बताईन । सोहि अवसरमा गोदावरी नगरपालिकाकी उप प्रमुख रत्ना कडायतले पनि बिशेष पुजाआजा गरेकी थिईन ।

नवनिर्मित मन्दिरमा पहिलो दिनमै पुजाआजा गर्नेको भिड लागेको थियो । मन्दिरमा पुजा गर्नु अगाडी बाजागाजा सहित शिव मुर्तिलाई गाउँमा परिक्रमा गरिएको थियो । मन्दिरमा मुर्ति स्थापना पछि सयौको संख्यामा आएका दर्शनार्थिले पुजाआजा गरेका थिए । गाउँमै मन्दिर बनेपछि हिन्दु धर्म प्रति मानिसको रुचि पनि बढ्ने पुजाका क्रममा स्थानियले बताएका थिए ।
