डडेल्धुरा - नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न डडेल्धुरामा आयोजना गरिएकोे ‘सुदूरपश्चिम प्रदेशस्तरीय कृषि, पर्यटन औद्योगिक व्यापार मेला एवं चौथो डडेल्धुरा महोत्सव’ बिहीबारबाट सुरु भएको छ।
‘सुखी नेपाली समृद्ध नेपाल ः कृषि पर्यटन उद्योग र व्यापार, समृद्धिको आधार’ भन्ने मूल नाराकासाथ फागुन ८ गतेदेखि १८ गतेसम्म आयोजना हुने महोत्सवको सुदूरपश्चिमका भौतिक पूर्वाधार तथा विकास मन्त्री पठानसिंह बोहोराले एक कार्यक्रमका विच उद्धघाटन गरेका हुन्।
जिल्ला सदरमुकामको बसपार्कदेखि अमरगढी–४ टुँडिखेलसम्म झाँकि सहितको र्याली निकालिएको थियो।
डडेल्धुरा उद्योग वाणिज्य संघ डडेल्धुराले भ्रमण वर्षलाई सफल बनाउन र यहाँका ऐतिहासिक पुरातात्विक सांस्कृतिक धार्मिक एवं पर्यटकीय स्थलको प्रवर्द्धन गर्न महोत्सवको आयोजना गरिएको संघका अध्यक्ष लोकराज भट्टले जानकारी दिए।
२०६५ सालमा पहिलोपटक महोत्सव गरेको उद्योग वाणिज्य संघले यसवर्ष नेपाल भ्रमण वर्षलाई टेवा र्पुयाउने र विकासका सम्भावना पहिचान गर्ने उद्देश्यसहित महोत्सव आयोजना गरिएको अध्यक्ष भट्टले बताए।
महोत्सवमा कृषि उपज, मह, जडीबुटी, हस्तकला, अल्लोका सामग्री, अलैंची, अदुवा, मसला, फर्निचर, अटोमोबाइल, गार्मेन्ट, इलेक्ट्रोनिक, होटल, सूचना प्रविधि तथा बाल उद्यानसहितका स्टल रहेक छन्।
महोत्सवमा लोक दोहरी हाँस्यव्यंग्य, स्थानीय लोक देउडा तथा नृत्य र साँस्कृतिक कार्यक्रम, स्थानीय उत्पादन, पर्यटक लक्षित संस्कृति भेषभूषा तथा ऐतिहासिक पुरातात्विक प्राकृतिक धार्मिक विभिन्न पर्यटकीय क्षेत्रको उजागर र प्रचार–प्रसार गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो।
राष्ट्रिय कलाकारसँगै सुदूरपश्चिम प्रदेशका कलाकारको महोत्सवमा विशेष प्रस्तुति रहने संघले जनाएको छ। महोत्सवमा बडालको चौलो, मारूनी नृत्य, छलिया नृत्य महिला परूष देउडा, झाँकी प्रदर्शन गरिने जनाइएको छ। महोत्सवमा माडा, रोटी, कोदाको रोटी, डुब्कालगायतका डोटेली खानाका विशेष परिकारहरू रहनेछन्।
अमरगढी नगरपालिका–४ टुँडिखेलमा आयोजना भएको महोत्सवमा सर्वसाधारणका लागि ६० विद्यार्थीका लागि ४० रुपैयाँ टिकट शुल्क निर्धारण गरिएको छ। ‘क’ र ‘ख’ वर्गका अपाङता भएकालाई परिचयपत्रका आधारमा निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ।
महोत्सवको टिकटबाट उठ्ने पैसाको १० प्रतिशत रकम डडेल्धुरा बहुमुखी क्याम्पसमा प्रविधिक शिक्षा संचालन गर्न र डडेल्धुरामा हावाई मैदान निर्माणका लागि खर्च गरिने आयोजकले जनाएको छ। २ लाख मान्छेले महोत्वसको अवलोकन गर्ने आयोजकको दाबी छ।