कञ्चनपुर – बिहानीको झिसमिसेमै गाउँगाउँमा साइकल गुडाउँदै स्थानीय जातका कुखरा खोज्दै हिँड्नु कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका छविलाल सार्कीको दिनचर्या नै हो । सार्कीलाई स्थानीय बासिन्दाले कुुखुरा व्यापारी ‘मुर्गावाला’ का रूपमा चिन्ने गर्दछन् ।
कुखुरा व्यापारीको पहिचान बनाउनु भएका उनले यसै व्यवसायबाट जीविका चलाउँदै आएका छन् । सार्की २९ वर्षदेखि स्थानीय जातका कुखराको व्यापारमा संलग्न रहेका छन् । पहिला जस्तै आज भोलि पनि सार्की साइकल डो¥याउँदै कुखुरा खोज्नमै व्यस्त हुने गर्दछन् ।
घरबासका लागि जग्गा र त्यसमा बनेको कच्ची घर सम्पत्तिका रूपमा रहेका सार्की जीविका चलाउनका लागि कुखुराको व्यापारलाई रोजेको बताउछन् । “स्थानीय जातका कुखुरा मात्रै पहिला पाल्ने चलन थियो”, सार्कीले भने, “गाउँगाउँमा सहज र सुपथ मूल्यमा कुखुरा पाइन्थे । हाल विकासे जातका कुखुरा व्यावसायिक रूपमा पाल्न थालिए पछि स्थानीय जातका कुखुरा खोज्न गाह्रो भइसक्यो । एक सयमा दुई जनाले मात्रै स्थानीय जातका कुखरा पाल्ने गरेका छन् ।”
दुई÷तीन दिन लगातार गाउँ चहारे पछि चार र पाँच कुखुरा मात्रै पाउन सकिने गरेको उनी बताउछन् । ५० रुपैयाँ प्रतिकिलोका दरले जिउँदो कुखुरा खरिद गरेर बजारमा बेचेको स्मरण गर्दै सार्कीले भने, “त्यसबेला दैनिक २५ देखि ३० किलोसम्म कुखुरा बिक्री गर्न लैजान्थेँ । गाउँमा खरिद गरेको कुखुरा बजारमा लगेर बिक्री गरी परिवारको खर्च सहजै चल्थ्यो । हाल त्यसको आधा मात्रै कुखुरा पाइने गरेका छन् ।”
उनका अनुसार अहिले कुखुरा पाउनै मुस्किल छ, पाइहाले पनि थोरै पाइने भएकाले आम्दानी पनि कम छ । “कुखुराको व्यापारले घरपरिवारको खर्च धानिएकै छ । तीन छोरीको विवाह पनि यसै व्यापारको कमाइले गर्न भ्याएको छु । छोरीको विवाह गर्नमै सात लाख बढी खर्च लागेको छ । त्यो सबै कुखुराकै कमाइ त हो नि ।”
हाल स्थानीय जातको कुखुराको भाले ५५० र पोथी ४५० प्रतिकिलोका दरले खरिद गरी ५०० देखि ६०० मा उनले बिक्री गर्दै आएका छन् । कुखुरा खरिद गरी बिक्री गरेर आएको केही रकम बचत गरी उनले पक्की घर समेत बनाउन थालेका छन् । ‘मुर्गावाला’ को नामले परिचित सार्की जीविका चलाउने एक मात्रै माध्यमका रूपमा रहेको कुखुराको व्यापार नछाड्ने बताउछन् । गाउँबाट खरिद गरेर ल्याएका कुखुरा भीमदत्तनगर बजारको सब्जीमण्डीमा बिक्री हुने गरेको छ ।
वर्षौं पहिले पहाडबाट बसाइँ सारेर तराई झर्दा कमाइने गर्ने साधन थिएन । भारतबाट आएका व्यापारीले मात्रै कुुखुराको व्यापार गर्दथे । भारतीय व्यापारीले कुखुरा लगायतको खुद्रे व्यापार गरेर आरामले परिवारको खर्च चलाएको देख्दा यसबाटै प्रेरणा लिँदै सार्कीले कुखुराको व्यापार गर्न शुरु गरेका हु्न् ।
बजारमा मजदुरी गरेर कमाएको १०० बाट पहिलो पटक कुखुरा खरिद गरी बजारमा लगेर बिक्री गरी आएको आम्दानी जम्मा गरे । “त्यसपछिको आम्दानी जम्मा गरी पूँजी बनाएँ” सार्कीले भने, “थोरैबाट धेरै कुुखुरा खरिद गर्न थालेपछि आम्दानी पनि बढ्यो । परिवारको खर्च चल्न थाल्यो । त्यसपछि यो नै व्यवसाय बन्यो ।”
“व्यापार सानो ठूलो हुँदैन । मेहनत गरे सानो व्यवसायबाट पनि परिवार सहजरूपमा चल्दोरहेछ । पहाडबाट तराई झर्दा एकसरो लुगामा आएका थियौँ । मेहनत गरेँ निरन्तररूपमा व्यवसायमा संलग्न रहेकाले कसैसँग पैसाका लागि अहिलेसम्म हात थाप्नुपरेको छैन”, उनले भने ।
उनका अनुसार पैसाकै लागि धेरै जना विदेशिने गरेका छन् । स्वदेशमै लगनका साथ काम गरे परिवार सँगै बसेर त्यो भन्दा बढी कमाउन सकिन्छ । त्यसका लागि धैर्य आवश्यक छ । रासस