अत्तरिया – ७० औँ प्रजातन्त्र दिवस गोदावरी नगरपालिकाले पनि भव्य रुपमा मनाइएको छ । दिवसको अवसरमा नगरपालिकाले प्रभातफेरी संगै अत्तरिया स्थित पंतन्जली योगा हलमा आयोजित एक कार्यक्रमका बिच प्रजातन्त्र ल्याउन योगदान गर्ने सहिदहरुको तस्विरमा माल्यार्पण गरिएको थियो ।
कार्यक्रममा बोल्दै गोदावरी नगपालिकाका नगरप्रमुख हरी सिं साउँदले १ सय ४ बर्षे राणा शासनको अन्त्य भएको दिनको सम्झनामा प्रजातन्त्र दिवस मनाईएको बताए । ‘२००७ सालमा बिभिन्न सहिदहरुको वलिदानले राणा शासनको अन्त्य भएको थियो ।’ नगरप्रमुख साउँदले भने – ‘त्यसपछि पनि बिभिन्न समयमा नेपालमा राजतन्त्रले आफ्नो बिभिन्न रुप ल्याउँदै प्रजातन्त्रलाई हस्तक्षेप गरिरहे पनि बिभिन्न खालका आन्दोलनका परिणाम आज देशमा संघिय लोकतन्त्र स्थापना भएको छ ।’
उनले २००७ सालमा राणा शासनको अन्त्य भएजस्तै २०६२/०६३ को आन्दोलनले देशमा राजतन्त्रको अन्त्य भएको बताए । ‘यसको लागि बिभिन्न क्षेत्रको महत्तपूर्ण भुमिका खेलेका छन ।’ उनले भने – ‘बिभिन्न व्यवस्थामा भएको परिवर्तन र सहिदको बलिदान र त्यागले अहिलेको अवस्थामा देश पुगेको हो ।’
उनले यसको परिवर्तनका लागि योगदान गरेका सहिदको सम्मान देशको विकास र समृद्धिबाट हुने बताए । उनले अहिलेको व्यवस्थालाई बलियो बनाउन प्रत्येक नागरिकले संबिधानको पालना गर्नुपर्ने बताए । अहिलेको आवश्यकता भनेको देशको तिव्र गतिमा विकास भएकाले यसका लागि सबैको साथको आवश्यकता रहेको नगरप्रमुख साउँदको भनाई थियो ।
सोहि कार्यक्रममा गोदावरी नगरपालिकाकी उपप्रमुख रत्ना कडायतले २००७ सालको प्रजातन्त्र ल्याउन सहिदहरुको ठुलो भुमिका भएको बताईन । ‘यो दिन ल्याउनका लागि बिगतका दिनमा सहिदहरुले रगत, पशिना बगाएका छन ।’ उनले भनीन् – ‘हामी अहिले त्यसैको आधारमा टेकेर लोकतन्त्रको अभ्यास गरिरहेकोले प्रजातन्त्र ल्याउन योगदान दिने सबैको सम्मान गरिनुपर्छ ।’
नगर प्रमुख साउँदको अध्यक्षतामा भएको कार्यक्रममा नगरउप्रमुख, वडा अध्यक्ष लगायत जनप्रतिनिधि, नगरपालिकाका कर्मचारी, विभिन्न राजनीतिक दलका प्रतिनिधि, शिक्षक विद्यार्थि लगायतको सहभागीता रहेको थियो । कार्यक्रमको संचालन गोदावरी नगरपालिकाका प्रवक्ता शर्मानन्द भट्टले गरेका थिए । नगरपालिकाको आयोजनामा भएको प्रभातफेरी कार्यक्रममा नगरपालिका जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि संगै दुर्गालक्ष्मी नमुमा माध्यमिक विद्यालय, घण्टेश्वर माध्यमिक विद्यालय र गुह्येश्वरी माध्यमिक विद्यालयका विद्यार्थी तथा शिक्षकको सहभागीता रहको थियो ।प्रभातफेरीमा विद्यार्थिहरुले शहित प्रति सम्मान छ, शहिदको सपना साकार पारौं, जातिय एकता, हाम्रो सौन्दर्य लगायतका व्यानर बोकेका थिए ।




