डडेल्धुरा – सरकारी कार्यालयबाट दिइने सेवा प्रवाहालाई प्रभावकारी बनाउनको निम्ति डडेल्धुरामा सूचना अधिकारी सँग अन्तरक्रिया गरिएको छ । जिल्ला प्रशासन कार्यालय डडेल्धुराको आयोजनामा मंगलबार अन्तरक्रिया गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय डडेल्धुराको आयोजनामा जिल्ला स्थित विभिन्न कार्यालयका सूचना अधिकारीहरुको सहभागितामा जिल्ला सदरमुकाममा अन्तरक्रिया सम्पन्न भएको हो ।
अन्तरक्रिया कार्यक्रममा जिल्ला प्रशासन कार्यालय डडेल्धुराका सहायक प्रमुख जिल्ला अधिकारी तथा सुचना अधिकारी गणेशदत्त ओझाले सूचनाको हक, नागरिकलाई दिन मिल्ने सूचना, यसको कानुनी अवस्था लगाएतको बारेमा जानकारी गराएका थिए । ओझाले नागरिकले सूचना मागे कस्ता प्रकारका सूचनाहरु दिन मिल्ने नमिल्ने अबस्थाका बारेमा जानकारी गराएका थिए ।
कार्यालयमा सूचना अधिकारी अनिबार्य राख्नु पर्ने र कार्यालयको सम्पूर्ण अबस्था बारे सूचना अधिकारीले सूचना मागेको खण्डमा दिनसक्ने गरि जानकारी लिनुपर्ने जस्ता विषयमा जानकारी गराइएको थियो ।
कार्यालय सेवा प्रवाहामा शुसासन प्रदान गर्न सुचना अधिकृत अति आवश्यक रहेको डडेल्धुराका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले बताए । सूचनाको हक जहाँ प्रयोग भएको छ त्यहाँ शुसासन भएको बढि पाइएकाले अन्तराष्ट्रिय मान्यता अनुसार सूचना अधिकारी राख्ने परिपाटी आएको बताए । सूचनाको हकले पारदर्शिता र जवाफदेहीता कायम हुने प्रमुख जिल्ला अधिकारी पन्तले बताए ।
‘नागरिकले संबैधानिक हकमै सूचना पाउनु पर्ने हक रहेकाले सुशासन कायम गर्नमा सूचना अधिकारीको महत्वपूर्ण भूमिका हुन्छ ।’ उनले भने, ‘सूचना अधिकारीले दिने सूचनाले ठूलो महत्व राख्ने भएकाले यसमा जिम्मेवार बन्नु पर्छ ।’
सुचना माग्दा सहजै रुपमा नमिल्ने गरेको पत्रकार महासंघ डडेल्धुराका अध्यक्ष मानबहादुर साउँदले गुनासो गरे । पत्रकारहरुलाई त सुचना पाउँन गाहे छ भने स्थानीय नागरिकले कसरी सूचना पाउँछन भन्दै उनले प्रश्न गरे ।
सुचना अधिकारीहरुले आफूले कस्ता सूचना दिने कस्ता सूचना नदिने भन्ने बारेमा खासै जानकारी नहुने भएकाले सूचना दिन समस्या हुने गुनासो गरे । सूचनाका बारेमा आफूहरुलाई जानकारी नभएकाले यस बारेमा आफूहरुलाई तालिमको व्यवस्था गर्नु पर्ने उनिहरुको माग छ । अन्तरक्रियामा बिभिन्न कार्यालयका सूचना अधिकारीहरुले कार्यालयको सूचना अर्थात गुनासाहरु बारेमा छलफल गरेका थिए ।