धनगढी – नेपाल आईस चौथो सुदुरपश्चिम अन्तराष्ट्रिय आमन्त्रण खप्तड गोल्डकपको चौथो सस्करणको ट्रफी सार्वजनिक गरिएको छ । आयोजक सुदूरपश्चिम–११ स्पोर्टस क्लबले सोमवार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै फागुन ९ गतेदेखि आयोजना हुने प्रतियोगिताको ट्रफी सार्वजनिक गरिएको हो । फागुन ९ गतेदेखि फागुन २० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको क्लबका अध्यक्ष सुरेश हमालले जानकारी दिए । हालसम्म ८० प्रतिशत तयारी सकिएको र वाँकी रहेको दिनमा सवै तयारी पुरा हुने अध्यक्ष हमालले बताए ।
पत्रकार सम्मेलन मार्फत प्रतियोगितामा सहभागी टीमहरुको वारेमा र खेल तालिकाको वारेमा समेत जानकारी दिईएको छ । यसअघि नै सार्वजनिक गरिएको खेल तालिका अनुसार उद्घाटन खेलमा फागनु ९ गते बाग्मती क्लब र कञ्चनजंघा फुटबल क्लब ईन्डियाबीच प्रतिस्पर्धा हुनेछ । जसको विजेताले सेमिफाईनल प्रवेशको लागि नेपाल आईस सुदूरपश्चिम–११ सँग प्रतिस्पर्धा गर्ने छ । जुन खेल फागुन १३ मा हुनेछ । फागुन १० मा नेपाल एपिएफ काठमाडौं र एनआरटी क्लबबीच प्रतिस्पर्धा हुने छ । विजेताले फागुन १५ मा सेमिफाइनल प्रवेशको लागि नेपाल पुलिस क्लब काठमाडौंसँग प्रतिस्पर्धा गर्ने छ । फागुन ११ मा नव जनजागृती क्लब सिमरा र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । जसको विजेताले सेमिफाईनल प्रवेशको लागि फागुन १४ मा रुस्लान थ्री स्टार क्लब काठमाडौंसँग प्रतिस्पर्धा गर्नेछ । फागुन १२ मा गोर्खा ब्वाइज रुपन्देही र कोबा फुटबल क्लब क्यामरुन बीच प्रतिस्पर्धा हुनेछ । जसको विजेताले सेमिफाइनल प्रवेशको लागि सिएमजी संकटा काठमाडौंसँग फागुन १६ मा प्रतिस्पर्धा गर्ने छ । पहिलो सेमिफाइनल फागुन १७ र दोस्रो १८ गते हुनेछ । फाइनल फागुन २० मा हुनेछ ।
चौधरी गुप्रको नेपाल आइसले मुख्य प्रायोजन गरेको प्रतियोगितामा दुई विदेशी सहित १२ टिम सहभागी हुनेछन् । प्रतियोगिताको विजेतालाई २१ लाख १ रुपैया तथा उपविजेतालाई १० लाख १ रुपैँया, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने आयोजक सुदुरपश्चिम–११ स्पोर्टस क्लबका महासचिव प्रकाश शाहीले जानकारी दिए । धनगढी रगशालामा हुने प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई मोटरसाईकल, विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई १५÷१५ हजार र प्रत्येक खेलको म्यान अफ दि म्याचलाई १०÷१० हजार पुरस्कार प्रदान गरिने छ ।
१ करोड ५० लाख खर्च लाग्ने अनुमान गरिएको प्रतियोगितालाई दैनिक १० हजार दर्शकले प्रत्यक्ष तथा दुई करोड मानिसले अप्रत्यक्ष रुपमा प्रतियोगिताबारे जानकारी पाउने आयोजकले दावी गरेको छ । प्रतियोगिताको प्रत्यक्ष प्रसारण एक्सन स्पोर्टस एचडी (डिस) होमले गर्ने छ । गत संस्करणमा रुस्लान थ्री स्टार क्लबलाई पराजित गर्दै नेपाल पुलिस क्लबले उपाधि जितेको थियो । प्रतियोगिताको माध्यमले सुदूरपश्चिमको समग्र विकास र खेल पर्यटनको विकास गर्ने उद्देश्यले अघिल्लो चार वर्षदेखि थालिएको प्रतियोगितालाई भव्य रूपमा सम्पन्न गर्न सबैको सहयोग आवश्यक रहेको अध्यक्ष हमालले बताए ।
यसपालीको गोल्डकपको नाम प्रतियोगिताको नाम चौथो नेपाल आइस अन्तराष्ट्रिय आमन्त्रण सुदूरपश्चिम खप्तड गोल्डकप—२०७६ रहनेछ । प्रतियोगितालाई नेपाल टेलिकमले सहप्रायोजन गरेको छ । सुदुरपश्चिम खप्तड गोल्डकप सुदूरपश्चिम प्रदेशका हुने एक मात्रै गोल्डकप हो । ‘सुदूरपश्चिम प्रदेशको पहिचान, फुटवल विकासको अभियान’ भन्ने नारा सहित सुदुरपश्चिम ११ स्पोर्टस क्लबले विगत चार वर्षदेखि गर्दै आयोजना गर्दै आएको छ ।