डडेल्धुरा - जिल्लाको अमरगढी नगरपालिकामा नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ । ‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद, सबैका लागि खेलकुद’ भन्ने मूल नाराका साथ आईतबार देखि प्रतियोगिता सुरु भएको हो ।
प्रतियोगिताको एक कार्यक्रमकाबीच जिल्ला समन्वय समिति डडेल्धुराका प्रमुख गणेशराज भट्टले उद्घाटन गरेका हुन्। प्रतियोगितामा अमरगढी नगरपालिकाभित्र रहेका ११ वटा माध्यमिक विद्यालयको सहभागिता रहेको छ। उद्घाटन कार्यक्रममा अमरगढी नगरपालिका अन्र्तगतका ११ वटा विद्यालयका विद्यार्थीहरुले लामवद्द भएर राष्ट्रिय झण्डा र आफ्नो विद्यालयको झण्डा लिएर मार्चपास प्रस्तुत गरेका थिए।
प्रतियोगितामा छात्र–छात्रा भलिवल, कबड्डी, एथेलेटिक्स र मार्सल आर्टलगायतका खेलहरु समावेश गरिएका आयोजक अमरगढी नगरपालिकाले जनाएको छ। अमरगढी नगरपालिका–३ को रामलिला खेलमैदान (बगड)मा खेलहरु संचाल भइरहेका छन्।
गत वर्ष डडेल्धुराको अमरगढी–४ टुँडिखेलमा प्रतियोगिता आयोजना गरिने भएपनि यस वर्ष फागुन ८ गतेदेखि टुँडिखेलमा भ्रमण वर्ष २०२० लाई सफल पार्न सुदूरपश्चिम प्रदेशस्तरीय कृषि, पर्यटन औद्योगिक व्यापार मेला एवं चौथो डडेल्धुरा महोत्सवको तयारी भइरहेकोले रामलिला खेल मैदानमा खेलकुद संचालन भइरहेका छन्। आईतबारदेखि सुरु भएको प्रतियोगिता सोमबार सम्म संचालन हुनेछ ।
देश संघीय संरचनामा गइसकेपछि स्थानीय तहहरुमा नै राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता संचालन भइरहेका छन् भने स्थानीय स्तरबाट प्रथम भएर आउने खेलाडिहरुको जिल्लामा जिल्ला स्तरिय प्रतियोगिता हुने भएको छ। खेलाडीहरु राष्ट्रको गहना भएकोले हामीले खेलहरु नियमित रुपमा खेल्नु पर्ने जिल्ला समन्वय समिति डडेल्धुराका प्रमुख गणेशराज भट्टले बताए।
खेलाडीहरुले नै राष्ट्रको नाम विश्वमा चिनाउन सक्ने र नियमित रुपमा खेल खेल्दा स्वस्थ भइने भएकाले ‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद, सबैका लागि खेलकुद’ भन्ने मूल नारा अगाढी बढेको उनको भनाइ थियो। यस्तै अमरगढी नगरपालिकाका नगर प्रमुख विशेस्वरप्रसाद ओझाले खेल खेल्दा खेलाडीले अनुशासन भएर खेल्नु पर्ने बताए।
खेलाडी राष्ट्रको गहना भएकाले देशलाई चिनाउन खेलाडीको महत्वपूर्ण भुमिका हुने बताए। ‘दिपक विष्ट, स्वरस्वती भट्टराई डडेल्धुराका गहना हुन्। उनिहरुले डडेल्धुराको मात्र नभएर देशकै शिर उच्च पारेका छन्।’ उनले भने, ‘डडेल्धुरामा पनि दक्ष खेलाडी उत्पादन गर्नु आबश्यक छ। र खेलाडीहरुलाई मध्य नजर गर्दै उग्रतारामा रङशाला निर्माण भइरहेको छ।’