पुनर्वास - धनगढी उपमहानगरपालिका कञ्चनपुरको पुनर्वासमा भईरहेको प्रथम मेयर कप फुटबल प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ । पुनर्वास नगरपालिकाको नगर खेलकुद विकास समितिको आयोजनामा भईरहेको प्रथम मेयर कप पुरूष फुटबल प्रतियोगिता २०७६ को शुक्रवार भएको दोस्रो सेमिफाईनलमा छिमेकी टोली गोदावरी नगरपालिकालाई हराउँदै धनगढी उपमहानगरपालिका फाईनल पुगेको हो ।
धनगढी उपमहानगरपालिकाले उपाधिका लागि आयोजक पुर्नवास नगरपालिका निलोसँग प्रतिस्पर्धा गर्ने भएको छ । यसअघि विहीवार भएको पहिलो सेमिफाईनल खेलमा पुर्नवास नगरपालिका निलोले वेलौरी नगरपालिकालाई ३–१ को गोल अन्तरले हराएको थियो । उपाधिका लागि आयोजनक पुर्नवास निलो र धनगढी उपमहानगरपालिका बीच शनिवार प्रतिस्पर्धा हुने पुर्नवास नगरपालिका मेयर जीवनराज थापाले जानकारी दिनुभयो ।
पुर्नवास नगरपालिका वडा नम्बर ३ स्थित ६५ विगाहको खेल मैदानमा शुक्रवार भएको दोस्रो सेमिफाईनल खेलमा धनगढीले गोदावरी नगरपालिकालाई १–० ले स्तब्ध पारेको हो । खेलको अधिकांश समय बल आफ्नो कब्जामा राखेको धनगढीका लागि दोस्रो हाफको १४ औं मिनेटमा सन्दीप कुँवरले निर्णायक गोल गरे ।
मैदानको मध्यभागमा पाईएको फ्रिकिकलाई सन्दीपले गोलमा परिणत गरेका हुन् । धनगढी उपमहानगरपालिकाले गोल गर्ने मौका गुमाउँदा १–० को साधु्रो जित हात पारेको हो । पहिलो हाफको ४ मिनेटमा कमल देउवाले गोलरक्षक विट हुँदा पनि गोल गर्न सकेनन् । पहिलो हाफको १४ औं मिनेटमा किरण वोहोरा पाएको सुन्दर मौकामा गोल गर्नबाट चुके । दोस्रो हाफको २१ औं मिनेटमा किरण वोहोराको पासलाई हेड गर्दै रंगोल चौधरीले आउछ फाले ।
दोस्रो हाफको ३६ औं मिनेटमा मैदानको मध्यभागबाट पाएको वललाई किरण वोहोराले गोलपोष्ट माथिबाट आउट हाने । गोदावरी नगरपालिकाले पनि आधा दर्जन वढी गोल गर्ने मौका गुमाउँदा जितबाट बन्चित भएको हो । पहिलो हाफको ६ मिनेटमा दाया साईडमा पाएको पासलाई मोहन आलेले आउट हाने । पहिलो हाफको १५ औं मिनेटमा मणीराम चौधरीले हेड गरेको वललाई हेड गर्दै धनगढीका कप्तान कुवेर सिंहले बचाए ।
पहिलो हाफको २५ औं मिनेट र दोस्रो हाफको ३ मिनेटमा पाएको फ्रिकिकलाई गोदावरीका मणीरामले गोल गर्न सकेनन् । दोस्रो हाफको ४ मिनेटमा गोदावरीका सागर विसीले पाएको बल गोलपोष्टबाट बाहिरियो । दोस्रो हाफको ८ मिनेटमा कर्नरबाट आएको वललाई मणीराम चौधरीले हेड गरेपनि गोलपोष्टको दिशा सकेनन् । दोस्रो हाफको १९ औं मिनेटमा अशोक चौधरीको प्रहारलाई धनगढीका गोलरक्षकले बचाए । खेलमा उत्कृष्ट प्रदर्शन गरेका धनगढीका खेम चयडा म्याच अफ द म्याच भए ।
उनले नगद दुई हजार प्राप्त गरे । खेमले डिफेन्स लाईनमा उत्कृष्ट प्रदर्शन गर्दै विपक्षी टीमलाई गोल गर्न नदिएपछि उनी म्याच अफ द म्याच भएका हुन् । शनिवार हुने प्रतियोगिताको विजेताले तीन लाख नगद सहित ट्रफी र प्रमाणपत्र पाउने छ भने उपविजेताले टिमले दुई लाख नगद सहित ट्रफी र प्रमाणपत्र पाउने पुनर्वास नगर स्तरीय खेलकुद विकास समितिका सदस्य सचिव लालमन तामाङले जानकारी दिनुभयो ।
त्यस्तै, म्यान अफ दि म्याचलाई दुई हजार नगद, बेस्ट प्लेयरलाई दश हजार नगद र बेस्ट स्कोररलाई सात हजार नगद तथा बेस्ट किपर, राइजिङ प्लेयर र बेस्ट डिफेन्सलाई पाँच हजारका दरले पुरस्कृत गरिने छ ।
प्रतियोगितामा कैलाली कञ्चनपुर र वर्दियाका गरी १२ वटा स्थानीय तहका टीमहरुले सहभागीता जनाएका थिए । सहभागी १२ टीमलाई दुई समुहमा विभाजन गरेर नकआउटका आधारमा प्रतियोगिता सञ्चालन भईरहेको प्रतियोगिताका संयोजक खडक विक्रम थापाले जानकारी दिनुभयो ।