सुदूरपश्चिमका पहाडी जिल्लामा पालिने गड्डी भैँसी पछिल्लो समयमा लोप हुँदै गएका छन् । भैँसीपालन व्यवसायका लागि कुनैबेला नामी मानिएको जिल्लामा भैँसी लोप हुँदै गएका हुन् । ठूला सिङ, ठूलो शरीर भएका र सज्जन खालका यी भैँसी पछिल्लो समयमा पूर्णरुपमा लोप हुँदै गएका छन् । गड्डी भैँसी दूध उत्पादनका लागि राम्रो मानिए पनि पछिल्लो समयमा यो जातको भैँसी नै लोप भएका हुन् ।
भैँसीपालनका लागि धेरै परिश्रम चाहिने भएकाले यसप्रति किसानको आकर्षण घट्दै गएको दशरथचन्द नगरपालिका– २ का सूर्य बोहराको भनाइ छ । किसानले भैँसी नै पाल्न छोडेका र विभिन्न रोगका कारण स्थानीय जातको गड्डी भैँसी लोप भएका हुन् । विसं २०५४ तिर बैतडी र दार्चुलामा देखापरेको खरी रोगका कारण गड्डी भैँसी लोप हुने स्थितिमा पुगेको भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका पशु विकास अधिकृत शिवराज भट्टले बताए ।
मुर्रा जातको क्रसिङ हुँदा स्थानीय जात नष्ट हुँदै गएको हो । खरी रोगको उपचार लामो समय सम्म गर्नुपर्ने भएकाले किसान दिक्क भएर भैँसी पाल्न नै छोडेका छन् । उनले भने, “भैँसी व्यवसायमा लागेका किसान अन्य व्यवसायमा लागेकाले पनि भैँसी लोप हुने अवस्थामा पुगेको हो ।”
भैँसीपालनका लागि प्रशस्त चरन, आहारा लगायतका कुराको कमी हुँदा भैँसीपालन व्यवसाय सङ्कटमा परेको किसान दलजित विष्टले बताए । यस्तै गाउँगाउँबाट भएका भैँसी तराईतिर बिक्री हुन थालेपछि गाउँमा भँैसी पाइन छोडेको विष्टको भनाइ छ । उनले भने, “दलालले गाउँगाउँमा पुगेर सानो पाडादेखि, थार भैँसी मासु प्रयोजनका लागि तराईतिर लग्न थालेपछि भैँसी व्यवसाय सङ्कटमा परेको छ ।”
जङ्गलको विनाश हुँदा भैँसीले आहाल खेल्ने तालसमेत सुक्दै गएका छन् । भैँसीपालन व्यवसायबाटै गुजरा गरिरहेका पनि पछिल्लो समयमा अरु नै पेशा अपनाउन थालेका छन् । पहिला पहिला भैँसी सीको घिउ बेचेर घरखर्च धान्ने रोजगारीका लागि अन्यत्र जान थालेका छन् कुनैबेला परिवारका लागि लुगाफाटो किन्नुपर्दा अथवा चाडपर्व मनाउने सवालमा पनि भैँसीको घिउले नै गर्जो टार्ने चलन थियो ।
तर, पछिल्लो समयमा भैँसीपालनमा किसानको आकर्षण घटेपछि भैँसीको घिउ पाउन छोडेको बासुलिङ्गका लालबहादुर पाण्डेले बताए । उनले भने, “पहाडी जिल्लाबाट मासुका लागि थारा भैँसीसमेत व्यापारीले किन्न थालेपछि किसानले भैँसी नै पाल्न छोडेको हो ।”
भैँसीपालन व्यवसायलाई प्रवद्र्धन गर्नका लागि सरकारीस्तरबाट पनि पहल नहुँदा समस्या भएको छ । भैँसीपालन प्रति नयाँ पुस्ताको ध्यान कम हुनुले पनि समस्या निम्त्याएको हो । भैँसी नै लोप हुने अवस्थामा पुगेपछि यहाँका स्थानीय तहले प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्नुपर्नेमा किसानले जोड छ । पशुसेवाका कार्यक्रम स्थानीय तहमा भए पनि प्रभावकारीरुपमा कार्यान्वयन हुन सकेको छैन । यसको रोकथामका लागि कसैको ध्यान नपुगेको आरोप छ । तर, यहाँका स्थानीय तहले भने रोकथामको पहल थालेका छन् ।
सडक सुविधा नजिक भएका ठाउँका भैँसी बढीजसो अन्यत्र पैठारी हुने गरेको भए पनि तर दुर्गम क्षेत्रमा भने पहिलाको भन्दा केही मात्रामा घटेको शिवनाथ गाउँपालिका अध्यक्ष कर्णसिंह साउँदको दाबी छ । उनले भने, “रोकथामका लागि पहल थाल्दा पैठारीमा कमी आएको छ ।” पैठारी रोक्ने उद्देश्यले व्यावसायिकरुपमा भैँसीपालन गर्ने किसानले अनुुदान सहयोग गर्ने गरेको सुर्नया गाउँपालिका अध्यक्ष वीरबहादुर विष्टले बताए ।
भैँसीको स्याहार सुसारका लागि बढी मिहनेत गर्नुपर्ने र दूधको समेत सङ्गठित बजार नहुँदा भैँसीपालन व्यवसाय सङ्कटमा परेको पशु प्राविधिकले जनाएका छन् । कार्यक्रम लागू गरेर किसानको गोेठसुधार, रोगको नियन्त्रणका लागि जुकाको औषधि, बाह्य परजिवी विरुद्धको खोप र खरीरोगविरुद्धको औषधि निःशुल्क प्रदान गर्नुपर्ने, किसानलाई पोसिलो घाँस उत्पादनमा उत्प्रेरित गर्ने र त्यसका लागि घासको बीउ र बेर्ना सित्तैमा उपलब्ध गराउनु पर्नेछ । रासस