धनगढी – भ्यालेन्टाईन डे अथात् विश्व प्रेम दिवसको अवसरमा सामाजिक कार्य सक्रिय युवाहरुको संस्था हेल्फ फर ह्याप्पीनेस सुदूरपश्चिमले कैलाली कारागारमा रहेका कैदीबन्दीहरु संग प्रेम दिवस मनाएको छ । ह्याप्पीनेसले कारागारमा आश्रीत चार सय ७८ कैदीबन्दीहरुलाई गुलाफको फूल र चकलेट उपहार दिदै प्रेम दिवस मनाएको हो । कागारमा औपचारिक कार्यक्रमको आयोजना गर्दै संस्थाले विभिन्न ब्लकमा रहेका कैदीबन्दीलाई गुलाफ र चकलेट उपचार दिदै प्रेम बाडेको छ ।
कार्यक्रममा बोल्दै संस्थाका सुदूरपश्चिम संयोजक घनश्याम भण्डारीले प्रेम रुपलाई होईन मानवतालाई गर्नुपर्छ भन्ने हेल्फ फर ह्याप्पीनेसको उद्देश्य अनुसार कैदीबन्दीसंग भ्यालेन्टाईन डे मनाईएको बताए । भण्डारीले कारागारमा आश्रीत सबैलाई एक्लो छु भन्ने महसुस हुन नदिनका लागि प्रेम स्वरुप रातो गुलाब उपहार दिएको जनाए । प्रेम प्रेमी र प्रेमिका बिचमा मात्र सीतित नहुने सन्देश दिनु पनि आफूहरुको उद्देश्य भएको भण्डारीले कार्यक्रममा सबैलाई जानकारी दिए । उनले कानून भन्दा माथि कोही नहुने भएकाले जान÷अनजानमा भएका गल्तीको सजायको भागेदार भएको भन्दैमा विचल्लीत नहुन पनि आग्रह गरे ।
कारगारको जीवनलाई सिकाईको रुपमा लिएर परिवार, समाज र देशका लागि काम गर्नेमा हेल्फ फर ह्याप्पीनेस विश्वस्त रहेको भण्डारीले बताए । उनले भने, ‘हामीले जानीनजानी गल्ती गरेपछि सजाय भोग्नुपर्छ कानून भन्दा कोही हुँदैन्, यहाँ भित्र दुःख काटेर फेरी कोही पनि नराम्रा गतिविधीमा सक्रिय नहुनु।’ भण्डारीले थपे, ‘कानून अनुसार सजाय भोगीसके पछि सबै जना समाज र देशका लागि योगदान गरी उदाहरणीय बनेको देख्न र सुन्न पाउँ ।’
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका कैलाली कारागारका जेलर बिरेन्द्रबहादुर बोहोराले कैदीबन्दीको पीडा बुझेर प्रेम दिवसमा उनीहरुलाई केही क्षणका लागि सामिप्तयता दिएकोमा हेल्फ फर ह्याप्पीनेस सुदूरपश्चिमलाई धन्यवाद दिए । उनले कतिपय व्यक्तिहरु प्रेमकै कारण कैद भुक्तान गर्न बाध्य भएको उदाहरण पनि कारागार भित्र रहेको बताए। संस्थाबाट अगामी दिनमा समेत सहयोगको अपेक्षा गरेको जेलर बोहोराले बताए। यस्तै, कार्यक्रमका अतिथि कारागारका सुरक्षा प्रमुख प्रहरी नायब निरिक्षक रामचन्द्र पन्तले प्रेम सबैलाई आवश्यक पर्ने बताए । उनले प्रेमीप्रेमिका बिच मात्र नभएर प्रेमले परिवार, समाज र राष्ट्रलाई एकढिक्का बनाएको बताए । उनले मान्छे मान्छे बिच, मान्छे र अन्य जीवजन्तुबिच, जीवजन्तु जीवजन्तुबिच पनि प्रेम सम्बन्ध हुने बताए ।
उनले कतिपय व्यक्तिले घरमा बाघ पालेर राखेको देखेको बताउँदै त्यो प्रेमकै कारण सम्भव भएको समेत बताए । कैदीबन्दीहरुले पनि हेल्फ फर ह्याप्पीनेस संग प्रेम दिवस मनाउन पाउँदा खुसी लागेको बताएका छन् । कार्यक्रममा हेल्फ फर ह्याप्पीनेस सुदूरपश्चिमको आपतकालीन असहाय सहयोग कोष, इमरजेन्सी मेडिकल टीम, इमरजेन्सी भेटेनरी टीमका सदस्यहरुको सहभागिता रहेको थियो । ह्याप्पीनेसले प्रेम दिवसकै अवसरमा माईती नेपाल कैलालीमा आश्रीत युवतीलाई पनि गुलाफ र लुगा उपहार दिएको छ । हेल्प फर ह्याप्पीनेसले सामाजिक क्षेत्रमा काम गर्दै आएको छ ।