काठमाडौँ — नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले ’जनयुद्ध’ का बेला कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले ठूल्ठूला आक्रमण गर्न सुझाएको खुलासा गरेका छन् । तत्कालीन नेकपा (माओवादी) ले सञ्चालन गरेको ’जनयुद्ध’ दिवसको अवसरमा बिहीबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित श्रद्धाञ्जली सभामा दाहालले जनआन्दोलन र जनयुद्ध सँगै चलेको समयमा पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति कोइरालाले आक्रमणलाई मजबुत बनाउन भनेको कुरा स्मरण गराएका हुन् ।
’नेपाली कांग्रेसका तत्कालीन नेता दिवंगत गिरिजाप्रसाद कोइराला र मेरो बीचमा दिनदिनै जस्तो कुरा हुन्थ्यो र उहाँले ठूल्ठूला आक्रमण बढाउनु प¥यो भन्नुहुन्थ्यो मलाई । फौजी आक्रमण अलि बढाइदिनुप¥यो,’ उनले सम्झे, ’सदरमुकाम हान्नुप¥यो भन्नुहुन्थ्यो, यो बडो विचित्रको कुरा हुन्थ्यो ।’ अध्यक्ष दाहालले दलहरुबीचको विचित्रको संयोगले राजतन्त्र अवसान गर्ने वातावरण बनेको र देश संघीय गणतन्त्रमा आउन सफल भएको बताए ।
अध्यक्ष दाहालले तत्कालीन एमाले र माओवादीखबीच संविधान निर्माण तर्फ जाने भन्ने सहमतिकै जगमा कांग्रेस सँग पनि मिल्न पुगेको बताए । देशमा एकातिर जनयुद्ध र अर्कोतिर शान्तिपूर्ण जनआन्दोलन तत्कालीन ७ राजनीतिक दल र तत्कालीन नेकपा (माओवादी) को समझदारीमा भएको दाहालको भनाइ थियो । दलहरुबीच फरक किसिमबाट बनेको एकताले देशमा संविधान निर्माण र संघीयता आएको उनले बताए ।
अध्यक्ष दाहालले विश्वका अन्य मुलुकमा शान्ति प्रक्रिया पूरा हुन नसकेको र विद्रोहका प्रमुख नेता नै मारिएको उल्लेख गरे । उनले आफूहरु शौभाग्यशाली भएर नेपालमा सशस्त्र विद्रोहलाई शान्तिपूर्ण वातावरणमा ल्याउन सफल भएको दाबी गरे ।
अध्यक्ष दाहालले जनयुद्ध र जनआन्दोलनको बलमा शान्ति प्रक्रिया हुँदै समाजवादको आधार निर्माणतर्फ मुलुक अघि बढेकाले अब जनयुद्धको नक्कल गरेर विद्रोह सम्भव नहुने बताएका छन् । उनले जनयुद्ध र विद्रोह एक ऐतिहासिक तथा विशिष्ट परिस्थितिमा जनताको आवश्यकता र नेतृत्वको सही विचारका आधारमा हुने भएकाले अब जनयुद्धको नक्कल हुन नसक्ने स्पष्ट गरेका हुन् । प्रतिबन्धित नेकपा नेत्रविक्रम चन्द समूहलाई लक्षित गर्दै दाहालले भने, ’कहिलेकाहीं आफैआफै भएजस्तै गर्छन् केही व्यक्ति । केही नक्कल गर्न लागेका छन् ।’
तत्कालीन नेकपा (माओवादी) ले विसं २०५२ फागुन १ गते गणतन्त्र स्थापनाको लक्ष्यसहित जनयुुद्धको आरम्भ गरेको थियो । विश्व कम्युनिष्ट आन्दोलनका उपलब्धि र क्षतिका अनुभवबारे चर्चा गर्दै उनले क्रान्ति कुनै आयात या निर्यात गर्ने विषय नभएकाले यसलाई हरेक देशको ऐतिहासिक आवश्यकता र मौलिकताका आधारमा हेर्न आग्रह गरे ।
कार्यक्रममा शहीदहरुप्रति श्रद्धाञ्जलि व्यक्त गरिएको थियो । तत्कालीन एमाले र माओवादी केन्द्रबीच गत २०७५ जेठ ३ गते एकता भएपछि हरेक फागुन १ लाई ‘जनआन्दोलन र जनयुद्धका शहीदको स्मृतिमा बिहीबार आयोजित श्रद्धाञ्जलि सभा’ का रुपमा मनाउन थालिएको छ । कार्यक्रममा नेकपा उपाध्यक्ष गौतम, महासचिव विष्णु पौडेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, नेताहरु अमृत बोहरा, युवराज ज्ञवाली, पम्फा भुसाल लगायत नेताहरु तथा कार्यकर्ताहरुको उपस्थिति थियो ।