धनगढी – धनगढी उपमहानगरपालिका १९ को फुलबारीमा ट्राफिक प्रहरी पोष्ट भवनको शिलान्यास गरिएको छ । बुधबार एक कार्यक्रमका बिच प्रदेश सांसद नेपालु चौधरी र सुदूरपश्चिम ट्राफिक प्रदेश कार्यालय अत्तरियाका प्रमुख लोकेन्द्र श्रेष्ठले भवनको शिलान्यास गरेका हुन । प्रदेश ट्राफिक प्रहरीको समन्वय र वडा कार्यालयको पहलमा निर्माण गरिन लागेको भवनको शिलान्यास गर्दै सांसद चौधरीले सडकको बिस्तार र सवारी चाप बढे संगै फुलबारीमा सवारी दुर्घटना बढ्दै गएकाले यसको न्युनिकरणका लागि ट्राफिक प्रहरी पोष्ट आवश्यक भएको बताए । उनले ट्राफिक प्रहरी पोष्ट निर्माणका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।


सुदूरपश्चिम ट्राफिक प्रदेश कार्यालय अत्तरियाका प्रमुख श्रेष्ठले समुदायी प्रहरी साझेदारीमा नेपालमै पहिलो पटक नमुनाका रुपमा ट्राफिक प्रहरी पोष्ट निर्माण गर्न लागिएको बताए । ‘यो एक नमुना हो । यस क्षेत्रमा ट्राफिक प्रहरीको आवश्यकता छ भन्ने आवश्यकता महशुस गरेर २ महिना पहिले २ जना ट्राफिक प्रहरी परिचालन गरेका थियौ । ’ प्रमुख श्रेष्ठले भने – ‘अहिले वडा कार्यालयको पहलमा स्थानिय आफै सक्रिय भएर भवन नै निर्माण गर्ने कार्य सक्रिय हुनु सबैका लागि नमुना हो ।’ उनले ट्राफिक पोष्ट स्थापना गर्दैमा सबै दुर्घटना न्युनिकरण नहुने भएकाले सबैले दुर्घटना न्युनिकरणका लागि सचेत हुन पनि त्यतिकै आवश्यक रहेको बताए ।

कार्यक्रममा वडा नम्बर १९ का वडा अध्यक्ष तिलुराम चौधरीले लामो समय देखि ट्राफिक चेक पोष्ट राख्नका लागि पहल गरिरहेको भएपनि अहिले सफल भएको बताए । उनले फुलबारी क्षेत्रमा बढ्दै गएका दुर्घटना न्युनिकरणका लागि २ महिना अगाडी प्रदेश ट्राफिक प्रमुख संग कुरा राख्दा २ जना ट्राफिक प्रहरी खटाएकोले आफूहरुले पनि वहाहरुको बस्ने व्यवस्था गर्नुपर्छ भन्ने जिम्मेवारी महशुस गरेर भवन निर्माणका लागि लागिपरेको बताए । उनले भवन निर्माणका लागि तत्कालिन पुनर्बास बस्ती विकासको फुलबारीमा रहेको ७ कट्टा जग्गा मद्ये १ कट्ट जग्गामा २ कोठे भवन निर्माणका लागि छुट्याएको बताए । उनले भवन निर्माणका लागि धनगढी नगरपालिका संगै वडा र स्थानिय संग चन्दा संकलन गरिने बताए ।
धनगढी उपमहानगरपालिका वडा नम्बर १८ का वडा अध्यक्ष मुरारी अधिकारीले फुलबारीमा पछिल्लो समय सडकको बिस्तार संगै सवारी चाप बढेकाले स्थायी रुपमा ट्राफिक प्रहरी राख्न आवश्यक भईसकेको बताए । ‘फुलबारीलाई फुलको बारी जस्तै बनाउन दुर्घटना रहित हुन आवश्यक रहेको छ । त्यसका लागि ट्राफिक पोष्टको आवश्यकता छ ।’ – वडा अध्यक्ष अधिकारीले भने ।
फुलबारीमा २ महिना अगाडी २ जना ट्राफिक प्रहरी राखिएको थियो । ट्राफिक प्रहरीलाई स्थायिरुपमा नै फुलबारीमा बस्नको वडा नम्बर १९ को अगुवाईमा भवन निर्माण कार्य अगाडी बढाईएको हो । अहिले सो क्षेत्रमा खटाईएका २ जना ट्राफिक प्रहरी सिमा प्रहरी चौकी बहुलियामा बस्दै आएका छन ।
वडा नम्बर १९ का वडा अध्यक्ष चौधरीको सभापतित्वमा भएको शिलान्यास कार्यक्रमको संचालन वडा नम्बर १९ का कार्यालय सचिव गणेश बस्नेतले गरेका थिए । भवन शिलान्यास गर्नु अगाडी ट्राफिक सचेतना जगाउँने नारा लगाउँदै निकालिएको स्थानीय र विद्यार्थिको ¥यालिले फुलबारी बजार परिक्रमा गरेको थियो । शिलान्यास कार्यक्रममा स्थानिय संस्कृती भल्कने नृत्य समेत प्रस्तुत गरिएका थिए । शिलान्यस कार्यक्रममा स्थानियको उल्लेख्य सहभागिता रहेको थियो ।
त्रिनगरमा पनि पोष्ट निर्माण हुँदै
ट्राफिक सचेतनाका कार्यक्रम संगै ट्राफिक पोष्ट निर्माणको कामलाई पनि तिब्रता दिएको सुदूरपश्चिम ट्राफिक प्रहरीले धनगढीको त्रिनगरमा पनि ट्राफिक प्रहरी पोष्टको निर्माणको कार्य अगाडी बढाएको छ । प्रहरी चौकी त्रिनगरको संगै जोडिएको जग्गामा ३ कोठे भवनको निर्माण सुरु गरिएको हो । सुदूरपश्चिम ट्राफिक प्रदेश कार्यालय अत्तरियाका प्रमुख श्रेष्ठले आज निर्माणधिन भवनको अवलोकन गर्दै भवन नहुँदा अहिले भन्सारमा खटाईएको ४ जना ट्राफिक प्रहरी भाडाको भवनमा बस्दै आएको बताए । उनले भवन निर्माणका लागि धनगढी नगरपालिका र स्थानिय बिभिन्न संघसस्थाले सहयोग गरेको बताए ।

उनले कैलालीमा जिल्ला ट्राफिक कार्यालयको आफ्नौ भवन भएपनि जिल्लामा रहेका ट्राफिक पोष्टहरुका भने अहिले सम्म बस्नको लागि भवन नभएको बताए । १३ ओटा ट्राफिक पोष्ट रहेको कैलालीमा पहिलो पटक फुलबारी र त्रिनगर भन्सारमा भवन बन्न लागेको हो । सुदूरपश्चिम ट्राफिक प्रदेश कार्यालय अत्तरियाका प्रमुख श्रेष्ठले आगामी दिनमा कैलालीका मसुरीया र सुख्खडमा पनि ट्राफिक प्रहरी पोष्ट निर्माणको लागि भवन निर्माण प्रक्रिया अगाडी बढेको बताए ।
