महेन्द्रनगर-भीमदत्त नगरपालिकाका सामुदायिक विद्यालयहरुलाई भौतिक पूर्वाधार निर्माणका कोटा वितरण गरिएका छन् । भीमदत्त नगरपालिका नगर शिक्षा समितिको ७ औैं बैठकबाट कोटा वितरणको निर्णय गरिएको छ ।संघ सरकारको सशर्त अनुदान अन्र्तगत आएका ती कोटा १६ विद्यालयलाई वितरण गरिएको छ । भीनपा आधारभूत माध्यमिक शिक्षा उप शाखाका स्रोत व्यक्ति भवानी प्रसाद पन्तले नगर प्रमुख सुरेन्द्र विष्टको अध्यक्षतामा बसेको नगर शिक्षा समितिको बैठकबाट कोटा वितरणको निर्णय गरिएको जानकारी दिए ।ती कोटामा विज्ञान प्रयोगशाला, आइसिटी सामग्री, ई पुस्तकालय लगायतका छन् ।पञ्चकृत बैजनाथ मा.वि. बागफाँटा, महेश्वर मा.वि. सुकासाल र बैजनाथ सिद्धनाथ मावि मटेनाले आइसिटी अनुदाको कोटा पाएका छन् ।
आइसिटीमा कम्प्युटर, इन्टरनेट, कनेक्टिभिटी इक्युपमेन्टस र किट्सका लागि अनुदान दिने गरिएको छ । भृकुटी मावि महेन्द्रनगर, लक्ष्मी मावि बागफाँटा र बैजनाथ मावि नयाँ तिलकपुर माध्यमिक विद्यालय विज्ञान प्रयोगशालामा अनुदानका लागि छनौट गरिएका छन् । वनगाउँस्थित सत्यवादी मावि, सरस्वती मावि उल्टाखाम महुलिया, जनसेवा मावि हल्दुखाल र त्रिभुवन मावि तिलाचौरले पुस्तकालय स्थापना तथा व्यवस्थापनमा अनुदान पाएका छन् । यो अनुदान फिक्सिङ्ग, किताब खरिद तथा ई पुस्तकालय बनाउनु अनुदान दिने गरिएको छ ।
दशरथ मावि निम्बुखेडा, बैजनाथ आधारभूत विद्यालय वनकट्टी, त्रिवेणी आधारभूत विद्यालय ऐठपुरलाई गणित, विज्ञान र अंग्रेजी विषयको क्रियाकलापमा आधारित सामग्री किट्सका लागि अनुदान दिइएको छ ।यसैगरी अमर सहित आधारभूत विद्यालय, बैजनाथ मावि महेन्द्रनगर र युवा वर्ष मावि तिल्केनीलाई पानी तथा स्वास्थ्य सरसफाई सहितको शौचालय निर्माणका लागि अनुदान प्रदान गरिएको छ ।पञ्चकृत मावि बागफाँटा, सत्यवादी मावि बनगाउँ र भृकुटी मावि महेन्द्रनगर दुई कोठे भवन निर्माणका लागि पनि छनौट गरिएको छ ।