अत्तरिया – कैलालीको गोदावरी नगरपालिका ८ मजगाउँका क्षितिज चौधरी आफ्नो तरकारी बारी नियाल्दै थिए । खेतभरी बिभिन्न मौसमी, बेमोसमी तरकारी खेती गरेका चौधरी आज भने फुर्सदिला देखिन्थे ।
‘तरकारी फलाउन मिहेनत त धेरै लाग्छ तर आज भने त्यति काम नभएर तरकारी के कस्तो भयो भनेर नियाल्दै छु ।’ किसान चौधरीले भने –‘अहिले बारीमा बेमौसमी काक्रा संगै रायो, मुला, काउली, भिण्डी लगाएको छु ।’
८ बर्ष देखि तरकारी खेति गर्दै आएका चौधरीले अहिले रिज्म संस्थाको सहयोगमा पलाष्टिकको टनेल बनाएर बेमौसमी तरकारी खेती पनि गर्दै आएका छन । ‘६० हजारको लगानीमा अहिले ३ ओटा टनेलमा काक्रा खेती गरेको छु, अबको केहि दिनमा काक्रा तयार हुन्छ ।’ चौधरीले भने – ‘रिचा, मालनी जातको काक्रा लगाएको छु । अहिले उत्पादन गरेको काक्राले राम्रो मुल्य पाउँन्छ ।’
बर्षभरी मौसम अनुसारका बिभिन्न किसिमका तरकारी खेती गर्दै आएका उनले आफूले उत्पादन गरेका तरकारी नजिकैको बजारमा सजिलै बिक्रि पनि हुँदै आएको बताए । ७ कट्टा जग्गामा तरकारी खेति गर्दै आएका चौधरी अहिले सम्म अन्य कुनै पनि काम गर्नु नपरेको बताउँन्छन । ‘४ जनाको परिवार छ, यसै तरकारी खेतीले खान लाउन पुगेको छ ।’ चौधरीले भने –‘घरमा त्यती धेरै खर्च पनि हुँदैन् । तरकारीबाट आएको आम्दानीले सबै खर्च चलेको छ, यसैमा म सन्तुष्ट छु ।’ उनले अहिले तरकारी खेतीबाट मासिक २० हजार सम्म बचत हुने गरेको बताए । चौधरीले भने – ‘यही पैसाले घर खर्च चलेको छ, धेरै लगानी पनि छैन तर पनि घरमा बसेर सन्तुष्ट भएर आफ्नै काम गरेर जिवन चलेको छ ।’ उनले घरका सबैले तरकारी बारीमा सघाउने गरेको बताए ।
देशमा बेरोजगारी समस्या छ । बिशेष गरेर युवाहरु रोजगारीको लागि बिभिन्न ठाउँमा भौतारीने गरेका छन । नेपालमै बसेर काम पाउन निकै समस्या छ । नेपालमै बसेर महिनामा २०/२२ हजार कमाउन पनि निकै कठिनाई संग जुद्नु पर्ने अबस्था छ । तर चौधरीले भने यस्ता कुनै समस्या संग जुध्नु नपरेको बताए ।
‘तरकारी खेती सम्बन्धि तालिम पनि लिएको थिए । तालिमले मलाई काम गर्न सहयोग पुगेको छ ।’ चौधरीले भने – ‘आगामी दिनमा तरकारी खेतीलाई अझै बढाउने सोच छ, त्यसका लागि कुनै संघ संस्थाबाट सहयोग पाए सहज हुन्थो ।’
उनले आधुनिक तरीकाबाट धेरै क्षेत्रमा खेती गर्न लगानी धेरै चाहिने भएकाले त्यसका लागि रकम जुटाउन समस्या हुने बताए । उनले बेमौसमी तरकारी खेतीबाट राम्रो फाईदा हुने र टनेलमा खेती गर्न लगानी बढीलाग्ने भएकाले सहयोगको अपेक्षा गरेको बताए । उनले अहिले आफूजस्तै आफ्ना छिमेकमा ७/८ जना किसानहरुले टनेलमा तरकारी खेती गरिरहेको बताए ।