कैलाली – भूपू सैनिक सम्मेलनको अवसर पारेर नेपाली सेनाले कैलालीको अत्तरिया स्थित तेघरी ब्यारेकमा सञ्चालन गरेको तीन दिने निःशुल्क स्वास्थ्य शिविरमा एक हजार ५सय भन्दा बढीले स्वास्थ्य सेवा पाएका छन् ।
गत शुक्रबार देखि शुरु भएको सो शिविरमा भूपू सैनिकका परिवारका सदस्यले स्वास्थ्य सेवा लिएको नेपाली सेनाले जनाएको छ । श्री नम्बर २५ फिएका गुल्मपति उपसेनानी डा बबिता सिल्वालले स्वास्थ्य शिविरमा ८१५ पुरुष र ७०८ महिला गरी एक हजार ५२१ ले स्वास्थ्य सेवा लिएको जानकारी दिए ।
सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लाका भूपू सैनिक र तिनका परिवारका लागि मध्यनजर गर्दै आयोजना गरिएको शिविरमा वीरेन्द्र सैनिक अस्पताल, श्री नम्बर २५ फिए र श्री नं ५ फिएका विशेषज्ञ चिकित्सक सहित स्वास्थ्यकर्मीको टोली खटिएको थियो ।
शिविरमा सामान्य शल्यक्रिया, फिजियोथेरापी सेवा, हाडजोर्नी, र आँखा तथा दन्त सेवा उपलब्ध गराइएको थियो । शिविरमा पाठेघरको समस्या, मधुमेह, आँखा र कानका बिरामीको सङ्ख्या अधिक रहेको डा सिल्वालले जानकारी दिए । “आँखाका बिरामीका लागि चस्मा समेत उपलब्ध गराइएको छ”, उनले भने “अरु बिरामीका लागि औषधिसमेत निःशुल्क उपलब्ध गराइयो ।”
भूपू सैनिकलाई लक्षित गरी स्वास्थ्य उपचार सेवाका साथै लघुवित्त कार्यक्रममा समेत सेनाको कल्याणकारी कोष मार्फत सुदूरपश्चिमका भूपू सैनिकलाई विभिन्न किसिमको ऋण लगानी समेत गरिएको छ । अवकाश पछि नागरिक जीवनमा आउने भूपूलाई आयमूलक व्यवसायमा अग्रसर गराउनसमेत सेना अग्रसर रहँदै आएको छ । रासस