दार्चुला — एक दशक देखि निर्माणाधीन तिंकर जोड्ने महाकाली करिडोरलाई ‘गेम चेन्जर’ परियोजनामा राख्न राष्ट्रिय योजना आयोगमा प्रस्ताव पठाइएको छ । उक्त करिडोर सुदूरपश्चिमकै पहिलो उत्तर–दक्षिण मार्ग तथा त्रिदेशीय सीमा जोड्ने सडक हो ।
आर्थिक, सामाजिक लगायत बहुआयामिक क्षेत्रमा विकास पु¥याउने योजनालाई गेम चेन्जर परियोजनाबाट सम्पन्न गर्ने सरकारको योजना छ । सोहीअनुरुप आयोगले तयारी गरिरहेकोले महाकाली करिडोरको प्रस्ताव पठाइएको आयोजना प्रमुख अच्युत विलाश पन्तले बताए । चालु आवमा परियोजना छनोट भए आगामी आवबाट कार्यान्वयन हुने तथा पाँच वर्षमा सम्पन्न गर्नुपर्नेछ । ‘मुलुकको उत्तर–दक्षिण तथा त्रिदेशीय नाका जोड्ने करिडोर भएकाले उक्त परियोजनामार्फत करिडोर निर्माण अगाडि बढाउनु जरुरी छ,’ पन्तले भने, ‘सुदूरपश्चिमको बहुआयामिक क्षेत्र समेट्ने योजना भएकोले गेम चेन्जर परियोजनामा समावेश हुने सम्भावना बढी छ ।’ उनका अनुसार यो सडक योजना परियोजनामा समावेश भए २०८३ सम्म निर्माण सम्पन्न भई तिंकर नाकासम्मै गाडी गुड्ने छ ।
गेम चेन्जर परियोजनामा राखिँदा करिडोर निर्माणमा पाँच वर्षमा ३२ अर्ब १६ करोड बजेट खर्च हुने उनको भनाइ छ । कञ्चनपुरको बहृमदेवदेखि तिंकर नाकासम्मको चार सय २६ किलोमिटर सडकको आव २०७९/०८० सम्म ट्र्याक खोलिसक्ने लक्ष्य छ । पहिलो चरणमा ३ वर्षमा ट्र्याकसंँगै छेउछाउमा ग्याबिन जाली राखिसक्ने र १७ वटा पुल निर्माण गरिनेछ । त्यसका लागि १७ अर्ब ५० करोड रुपैयाँभन्दा बढी रकम खर्च हुने अनुमान छ । दोस्रो चरणमा सबै सडक कालोपत्रेसँगै ३० वटा पुल निर्माण गर्न १४ अर्ब ६६ करोड बजेट खर्च हुने छ । ‘यसअघि महाकाली करिडोर सम्पन्न गर्न १८ अर्ब १६ करोड बजेट निर्धारण गरिएको थियो,’ योजना प्रमुख पन्त भन्छन, ‘जसमध्ये अहिले सम्म सवा अर्ब बजेट खर्च भइसकेको छ । यो परियोजना सम्पन्न गर्न १४ अर्ब थप आवश्यक छ ।’
२०६५ बाट निर्माण थालिएको यो सडक सुरुमा दार्चुला–तिंकर सडक योजना र पछिल्लो समय महाकाली करिडोरका नामले चिनिन्छ । साविकको तिंकर सडक खण्ड अन्तर्गत अहिले सम्म ४० किलोमिटर ट्र्याक खोलिएको छ । तीन वर्षअगाडि महाकाली करिडोरमा गाभिए पछि कञ्चनपुरको बहृमदेव–तिंकरखण्डको एक सय २५ किलोमिटरमा ट्र्याक खोलिएको पन्तले जानकारी दिए । गेम चेन्जर परियोजनामा समेटिने योजना राष्ट्रिय लक्ष्यसंँग जोडिने पन्त बताउँछन । ‘बहुआयामिक प्रभावसँंगै यस्ता योजना कार्यान्वयन गर्न सजिलो हुनेछ,’ उनले भने, ‘यो सूचीमा राख्ने योजनाको एउटा निश्चित समय तालिका नै बनाइने छ ।’
सडकको ट्र्याक दार्चुलाको व्यास गाउँपालिकाको केन्द्र सुन्सेरा सम्म खोलिए पनि गाडी भने दुहु गाउँपालिकाको केन्द्र हिकिलासम्म गुड्छ । सो खण्डको राताकाठा र गरमोरा भिरमा दुर्घटनाको जोखिम अत्यधिक रहेको भन्दै प्रशासनले सवारी चलाउन अनुमति दिएको छैन । तर, चालक र यात्रुहरू जोखिम मोलेरै यस खण्डमा यात्रा गरिरहेका छन । यात्रुहरूले हिकिला सम्म यात्रा गरे पनि ट्याक्टरबाट सामान ढुवानी सुन्सेरा सम्म हुने गरेको व्यास–६, पन्तोलीका प्रेमसिंह धामीले बताए ।
तिंकर सडकलाई खलंगाबाट शून्य विन्दु मानी निर्माण थालिए पनि ३ वर्षअघिसम्म गति सुस्त थियो । विस्फोटक पदार्थको अभाव देखाउँदै ३५ प्रतिशत मात्रै बजेट खर्च भएको थियो । करिडोरमा गाभेपछि पनि तिंकर खण्डमा भने खासै प्रगति हुन नसकेको व्यास गाउँपालिका–२, मालका हरकसिंह कार्कीले बताए । तिंकर सडक खण्डको ६५ किलोमिटरसम्म ५ वर्षअघि नै ठेक्का भएको हो । अहिलेसम्म पहुँच मार्ग नभएको भन्दै डेढ किलोमिटर मात्र सडकको ट्र्याक खोलिएको छ । अहिलेसम्म पहुँच मार्ग नभएको भन्दै डेढ किलोमिटर मात्र सडकको ट्र्याक खोलिएको छ । उनले भने, ‘ठेकेदारले ठेक्का सम्झौता भएको एकरदुई महिना काम गरेको देखायो, त्यसपछि हरायो । सम्बन्धित निकायले ताकेता गरेको बताए पनि प्रगति हुनसकेको छैन ।’ कान्तिपुरबाट