अत्तरिया - प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमाका दिन देखि सुरु हुने श्रीस्वस्थानी व्रतकथा आज सकिदै छ । हिन्दू धर्मावलम्बीले श्रद्धापूर्वक वाचन र श्रवण गर्दै आएको श्रीस्वस्थानी व्रतकथा माघ शुक्ल पूर्णिमाका दिन आज समापन गरिदैछ । पौष शुक्ल पूर्णिमा देखि माघ शुक्ल पूर्णिमा सम्म एक महिने लामो स्वस्थानी ब्रत र माघ स्नान गरिन्छ ।
आज व्रत समाप्तिका दिन श्रीस्वस्थानीको पूजा गरी चढाइने १०८ रोटी, १०८ पान, १०८ कुड्का सुपारी लगायतका सामग्री मध्ये आठ–आठवटा रोटी, सुपारी र पान लगायतका सामग्री आफ्ना श्रीमानलाई, श्रीमान् नभए छोरालाई, छोरा पनि नभए मित छोरालाई दिने र मितछोरा पनि नभए मेरो इच्छा पूरा होस् भनी खोलामा लगेर बगाइदिने र बाँकी व्रतालु स्वयंले खाने गर्दछन् ।
यो ब्रतकथा पौष शुक्ल चतुर्दशीका दिन हातगोडाको नङ काटी स्नान गरी शुद्ध बस्त्र पहिरिएर सुरुवात हुन्छ । बिहान माघ स्नान गरी मध्याह्नकालमा महादेवको पूजा गरिन्छ ।
बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी ब्रत कथा सुन्ने सुनाउने परम्परा छ । स्वस्थानीको शाब्दिक अर्थ आफू बसेको स्थानको देवी भन्ने बुझिन्छ । आफू बसेको स्थानकी देवीको पूजा गर्नु नै स्वस्थानी पूजा हो ।
उत्तरायणपछिको समय ध्यान योग साधनाका लागि उपयुक्त भएकाले स्वस्थान अर्थात् आफ्नो आत्मामा सम्पर्कको अभ्यास गर्नुलाई स्वस्थानी भनिएको विश्वास पनि छ । यसका लागि पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको समय राम्रो मानिन्छ ।
सुवर्ण वर्णकी, त्रिनेत्रधारी, प्रशन्न मुद्रा भएकी, कमल र सिंहासनमा बसेकी, चार हात भएकी देवीलाई स्वस्थानी देवी भनिन्छ । स्वस्थानीको चार हातमध्ये पहिलो हातमा नीलकमल, दोस्रो हातमा खड्ग, तेस्रो हातमा ढाल र चौथो हातमा वरदमुद्रा लिएकी देवी स्वस्थानी हुन् भनी ब्रतकथामा उल्लेख गरिएको छ ।
सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाउनाका लागि विष्णुको सल्लाह अनुसार निराहार रहेर स्वस्थानीको व्रत गर्दा आफ्नो मनोकामना पूर्ण भएको र पछि उनले लोककल्याणका निम्ति यो व्रतकथा प्रचारप्रसार गराई गरीब तथा दुःखीहरूको उद्धार गरेकाले परम्परागत रूपमा यो कथा प्रचलित हुँदै आएको मानिन्छ ।