धनगढी - पाँचौ हाईलेण्डर फारवेष्ट पशुपति कप फुटबल प्रतियोगिताको उपाधि स्टार सिटी युवा क्लवले जितेको छ।झण्डै नौ लाख नगद धनराशीको प्रतियोगिताको फाईनलमा सुदूरपश्चिम ११ लाई १–० ले पराजित गर्दै स्टार सिटीले उपाधिमाथि कब्जा जमाएको हो ।
स्टार सिटीको उपाधिमा विक्रम सिंहले निर्णायक गोल गरे । उनले पहिलो हाफको ईन्जुरी समयको एक मिनेटमा गोल गरे । विदेशी खेलाडी ओरियलको पासमा विक्रमले सुन्दर गोल गरे ।
प्रतियोगिताको विजेता बनेको स्टार सिटीले पाँच लाख नगदसहित ट्रफी र मेडल पाएको छ भने उपविजेता बनेको सुदूरपश्चिम ११ ले २ लाख ५० हजारमा चित्त बुझाएको छ। माघ १७ गतेदखि सुरु भएको पाँचौं हाईलेण्डर फारवेष्ट पशुपति कप फुटबल प्रतियोगिता शनिवार सकिएको छ । पाँचौ संस्करणको विजेता वनेको स्टार सिटीले प्रतियोगिताका विभिन्न विधामा समेत कब्जा जमाएको छ ।
स्टार सिटीका कुवेर सिंह प्रतियोगिताको उत्कृष्ट खेलाडी बने । उनले नगद २५ हजार प्राप्त गरे । उत्कृष्ट प्रशिक्षक स्टार सिटीका कुमार शाही, उत्कृष्ट गोलरक्षक स्टार सिटीका प्रियम खड्का, उत्कृष्ट रक्षक स्टार सिटीका राकेश हमाल, सर्वाधिक गोलकर्ता स्टार सिटीका विक्रम सिंह भए । त्यस्तै उदयमान खेलाडी फारवेष्ट पशुपति युवा क्लबका रोशन विसी भए ।
उनीहरुले जनही उत्कृष्टलाई १५–१५ हजार रुपैयाँ पुरस्कार पाएका छन् । विजयी खेलाडीहरुलाई एक समारोहका बीच नगद सिल्ड तथा पुरस्कार वितरण गरिएको छ । आयोजक फारवेष्ट पशुपति युवा क्लबका अध्यक्ष खेम रावतको अध्यक्षतामा भएको समापन समारोहका प्रमु अतिथि धनगढी उपमहानगरपालिका मेयर नृप ओड रहनु भएको थियो ।
प्रतियोगिताको पाँचौं संस्करणको मुख्य प्रायोजक हाईलेण्डर प्योर ह्वाईट भोड्का रहेको थियो । प्रतियोगिताको सह–प्रायोजकको रुपमा एडभेन्चर वेष्ट होलिडेज र टिकट प्रायोजकको रुपमा एक्सप्रेस अटो केयर रहेको थियो ।
फारवेष्ट पशुपति युवा क्लब छैँटौ राष्टिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिमलाई पदक जिताउने खेलाडीले स्थापना गरेको क्लब हो । उनीहरुले विगत पाँच वर्षदेखि आफू नखेलेर सुदूरपश्चिममा ऐकेडेमी स्थापना गर्ने उद्देश्यले फारवेष्ट पशुपति कपको आयोजना गर्दै आएका छन् ।