सरकारले सुदूपश्चिम प्रदेशका थप २ स्थानीय तहमा आद्यौगिक ग्राम बनाउने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार डोटीको जोटायल गाउँपालिका २, बझाङको तलकोट गाउँपालिका ६ मा औद्योगिक ग्राम बनाउने निर्णय गरेको हो । सरकारले देशैभरी पाँच स्थानीय तहमा आद्यौगिक ग्राम बनाउने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले जानकारी दिए । सरकारले यसअघि सुदूरपश्चिम प्रदेशमा ३ औद्योगिक ग्राम बनाउने घोषणा गरिसकेको छ ।
सबै स्थानीय तहमा औद्योगिक ग्राम बनाउने योजना सरकारको छ । यसअघि सरकारले घोषणा गरेका औद्योगिक ग्रामका लागि उद्योग मन्त्रालयले एक स्थानीय तहलाई ९२ लाख रकम दिएको दिईसकेको छ ।
उक्त रकमबाट स्थानीय तहले औद्योगिक ग्रामको पूर्वाधार बनाउनेछन् । स्थानीय तहले तीन महिनाभित्र डिटेल प्रोजेक्ट रिपोर्ट (डीपीआर) मन्त्रालयमा पेस गर्नुपर्छ । स्थानीय तह, प्रदेश र केन्द्रीय सरकारको समन्वयमा औद्योगिक ग्राम निर्माण हुन लागेको हो ।
स्थानीयस्तरमै रोजगारी र उत्पादन बढाउने उद्देश्यले सरकारले सात सय ५३ वटै स्थानीय तहमा औद्योगिक ग्राम घोषणा गर्न लागेको हो । स्थानीय स्रोत साधन, कच्चापदार्थ, प्रविधि र सीपको प्रयोग गरी उत्पादन बढाउन औद्योगिक ग्राम बनाउन लागिएको मन्त्रालयका अधिकारी बताउँछन् । औद्योगिक ग्रामभित्र प्रशासनिक भवन, बैंक तथा वित्तीय संस्था, दिवा शिशु स्याहार केन्द्र, अग्नि नियन्त्रणको व्यवस्था, सामान प्रदर्शनी तथा बिक्री कक्ष, शौचालय तथा स्नान गृह, पार्किङ, क्यान्टिन र प्राथमिक स्वास्थ्य केन्द्र बन्नेछन् । स्थानीय तह, निजी तथा साझेदारीमा औद्योगिक ग्राम सञ्चालन हुनेछ। ग्रामभित्र कृषि तथा वनजन्य, ऊर्जामूलक र सेवामूलकलक उद्योग स्थापना हुनेछन् ।
सरकारले गत वर्ष औद्योगिक ग्राम सञ्चालन सम्बन्धी कार्यविधि बनाएको थियो । कार्यविधिअनुसार हिमाली तथा दुर्गम पहाडी क्षेत्रमा ३०, पहाडी क्षेत्रमा ४० रोपनी र तराई क्षेत्रमा ७ बिघा जमिन चाहिन्छ । मानव बस्तीभन्दा दुईसय मिटर टाढा औद्योगिक ग्राम बनाउनुपर्ने प्रावधान छ ।