धनगढी - स्टार सिटी युवा क्लब पाँचौ हाईलेण्डर फारवेष्ट पशुपति कप फुटबल प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ । झण्डै नौ लाख नगद धनराशीको हाईलेण्डर फारवेष्ट पशुपति कप फुटबल प्रतियोगिताको विहीवार भएको पहिलो सेमिफाईनल खेलमा जित हात पार्दै स्टार सिटी फाईनल पुगेको हो ।
फारवेष्ट पशुपति युवा क्लबको आयोजनामा धनगढी रंगशालामा भईरहेको प्रतियोगिताको पहिलो सेमिफाईनलमा स्टार सिटीले मनकामना युवा क्लबलाई ३–२ ले हराएर उपाधि नजिक पुगेको हो । स्टार सिटीले उपाधिका लागि सुदुरपश्चिम–११ स्पोर्टस क्लब र पिएफए अत्तरिया बीचको विजेतासँग भिड्ने छ । दोस्रो सेमिफाईनल खेल शुक्रवार धनगढी रंगशालामा हुनेछ ।
शुक्रवारको निकै प्रतिस्पर्धात्मक पहिलो सेमिफाईनलमा स्टार सिटी र मनकामनाले पहिलो हाफ वरावरीमा खेले । दुवै टीमले दर्जनौं गोल गर्ने मौका पाउँदा पनि वललाई गोलपोष्टको दिशा दिन सकेनन् । विदेशी खेलाडी सहित मैदान उत्र्रिएको स्टार सिटीले पहिलो हाफमा मनकामनाभन्दा वढी गोल गर्ने अवसर पाए पनि त्यसलाई गोलमा परिणत गर्न सकेन् । पहिलो हाफ गोल रहित वरावरीमा सकिएपछि दोस्रो हाफको दुई मिनेटमा मनकामनाले गोल गर्दै खेलमा अग्रता लियो ।
मनकामनाका आशिष श्रेष्ठले मैदानको दायाँ साईडबाट दिएको पासलाई डिबक्स भित्र रहेका कृजल खड्काले गोल गरे । त्यसको ९ मिनेटपछि स्टार सिटीले गोल गर्दै खेल वरावरीमा ल्यायो । दोस्रो हाफको ११ औं मिनेटमा कप्तान कुवेर सिंहले मैदानको वायाँ साईडवाट दिएको पासलाई सदुपयोग गर्दै विक्रम सिंहले गोल गरे ।
दोस्रो हाफको १५ औं मिनेटमा स्टार सिटीले खेलमा अग्रता लियो । मनकामनाले फल गरेपछि स्टार सिटीले पाएको फ्रिकिकलाई राकेश हमालले प्रहार गर्दा गोलरक्षक सलन अधिकारीको हातवाट छुटेको वललाई कप्तान कुवेर सिंहले गोल गरे । दोस्रो हाफको २८ औं मिनेटमा स्टार सिटीले अग्रतालाई ३–१ मा पुरायो ।
मनकामनाका आशिष श्रेष्ठले स्टार सिटीका कमल देउवालाई फल गरेपछि पाएको फ्रिकिकलाई राकेश हमालले गोल गरे । उनले हानेको प्रहार गोलरक्षक सलन अधिकारीले थाहा नपाउने गरी गोल भयो । दोस्रो हाफको ईन्जुरी समयको ४ मिनेटमा गोल गर्दै मनकामनाले गोल अन्तरलाई ३–२ को स्थितिमा ल्यायो । मनकामनाका सतिश सुवालले हानेको प्रहारलाई स्टार सिटीका गोल रक्षक प्रियम खड्काले रोक्दा फर्किएको वललाई गोलपोष्टको दिशा दिए ।
त्यसपछि कुनै टीमवाट गोल हुन नसकेपछि स्टार सिटी जित हात पार्दै फाईनल पुगेको हो । शुक्रवार दोस्रो सेमिफाईनल खेल धनगढी रंगशालामा हुनेछ । शनिवार प्रतियोगिताको फाईनल खेल हुनेछ ।
प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेताले २ लाख ५० हजार पाउने छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई २५ हजार तथा विभिन्न विधाका उत्कृष्टलाई १५–१५ हजार रुपैयाँ पुरस्कार पाउने छन् । प्रत्येक खेलको म्यान अफ द म्याचले दुई हजार ६ सय नगद पाउनेछन ।
प्रतियोगिताको पाँचौं संस्करणको मुख्य प्रायोजक हाईलेण्डर प्योर ह्वाईट भोड्का रहेको छ ।
प्रतियोगिताको सह–प्रायोजकको रुपमा एडभेन्चर वेष्ट होलिडेज र टिकट प्रायोजकको रुपमा एक्सप्रेस अटो केयर रहेको छ । फारवेष्ट पशुपति युवा क्लब छैँटौ राष्टिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिमलाई पदक जिताउने खेलाडीले स्थापना गरेको क्लब हो । उनीहरुले विगत पाँच वर्षदेखि आफू नखेलेर सुदूरपश्चिममा ऐकेडेमी स्थापना गर्ने उद्देश्यले फारवेष्ट पशुपति कपको आयोजना गर्दै आएका छन् ।