अछाम – बेतन कर्णाली अर्ध जलाशययुक्त जलविद्युत् आयोजनाको उत्पादन क्षमता घटेको छ । यसअघि ६ सय ८८ मेगावाट उत्पादन हुने भनिएको सो आयोजना विस्तृत अध्ययन र स्थान परिवर्तनका कारण ४ सय ४२ मेगावाट मात्रै उत्पादन हुने जनाइएको छ । प्रारम्भिक सम्भाव्यता अध्ययनमा छनोट गरिएको आयोजना स्थलमा प्रतिकूल सम्भाव्यता अध्ययन, भूकम्पीय जोखिमल गायतका समस्या देखिएकाले आयोजना स्थल परिवर्तन गरिएको हो । अब आयोजना अछामको ढकारी गाउँपालिका–६ मा विद्युत्गृह (पावरहाउस) तथा सुर्खेतको चौकुने गाउँपालिका–६ मा बाँध (ड्याम) स्थल बन्नेछ ।
आयोजनाको प्रवद्र्धक बेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर कम्पनी लिमिटेडले निर्माण पूर्वको तयारीमा जुटिरहेको जनाएको छ । यसका लागि पहुँच सडक विस्तार र विद्युत् आपूर्तिको काम सुरु भइसकेको छ । कम्पनीका प्रबन्ध सञ्चालक दीपक रौनियारले गुटुबाट कोइरालाबास जोड्ने सडकको टेण्डर आह्वान भइसकेको जानकारी दिए । कोइरालाबासबाट बाँधस्थल पुग्नलाई १३ किलोमिटर नयाँ ट्रयाक खोल्नुपर्छ । निर्माणका लागि ३३ केभी विद्युत् कैलालीको लम्कीबाट बेतन ल्याउने तयारी छ ।
आयोजना निर्माणमा ७६ अर्ब लगानी हुनेछ । सुर्खेत, अछाम जिल्लाको सिमाना हुँदै बगिरहेको कर्णाली नदीमा अर्धजलाशय युक्त आयोजना निर्माण गर्न सरकारी स्वामित्वको कर्मचारी सञ्चय कोषले कम्पनी मोडलबाट लगानी जुटाएको छ । कर्मचारी सञ्चय कोषको १५ प्रतिशत, नेपाल विद्युत् प्राधिकरणको १० प्रतिशत, विद्युत् उत्पादन कम्पनी लिमिटेडको १० प्रतिशत, छ लाख सञ्चयकर्ताको ४० प्रतिशत, साधारण नागरिकको १५ प्रतिशत, आयोजना प्रभावित क्षेत्रका बासिन्दाको आठ प्रतिशत र अति विपन्न परिवारको दुई प्रतिशत शेयर रहनेछ ।
आयोजनाले निजामती कर्मचारी, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल र कोषमा कोष कट्टी गर्दै आएका करिब छ लाख सञ्चयकर्तालाई लगानी गर्न अवसर प्रदान गर्नेछ । नाफाको ८० प्रतिशत आफ्ना सञ्चयकर्तालाई प्रदान गर्दै आएको सञ्चयकोषले अब नाफा वितरण नगरी अलग्गै खातामा जम्मा गरेर बेतन कर्णालीमा लगानी गर्नेछ । सञ्चयकर्ताले नाफा बापत पाउने रकमको ब्याज समेत जोडेर सो बराबरको शेयर बाँडिनेछ। चालू आर्थिक वर्षबाटै निर्माण सुरु गरेर २०८१ सालमा सञ्चालन गर्ने लक्ष्य राखिएको छ ।
कम्पनीले २०१८ जुनदेखि २०१९ डिसेम्बरसम्म विस्तृत इञ्जिनीयरिङ र वातावरणीय प्रभाव अध्ययन लगायतका कार्य पूरा गरेको थियो। कम्पनीका प्रबन्ध सञ्चालक रौनियारका अनुसार आयोजनामा डाइभर्सन टनेल दुई वटा र नदीको जगबाट १३२ मिटर अग्लो बाँध (ड्याम) बन्नेछ । त्यस्तै २.५ किमी लम्बाइ र सात मिटर गोलाई भएका तीन वटा टेनल, तीन÷तीन वटा सर्ज काफ्ट र पेनस्टक संरचना बनाइनेछ । आयोजनाबाट वार्षिक आम्दानी रु साढे १४ अर्ब हुने अपेक्षा राखिएको छ। सुर्खेतको चौकुने गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीले आयोजना छिटो सञ्चालन गर्न अनुरोध गरेको बताए ।
आयोजना निर्माणका लागि स्थानीय र प्रदेश सरकारको लगानीमा पहुँच सडक विस्तारको काम भइरहेको भन्दै उहाँले चौकुनेवासी तत्काल आयोजना अघि बढ्नुपर्ने पक्षमा रहेको बताए । बेतन कर्णालीमा न्यून मुआब्जा दिनुपर्ने, डुबानको ठूलो समस्या नरहेकाले आयोजना निर्माणमा सहज भएको अध्यक्ष शाहीको भनाइ छ । चौकुने क्षेत्रमा जलविद्युत् आयोजना निर्माण हुने भएपछि स्थानीयवासी उत्साही देखिएका छन् । विद्युत् उत्पादनसँगै सडक निर्माण हुने र गाउँमै रोजगारी पाइने स्थानीयको अपेक्षा छ । रासस