काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास जग्गा अनियमितता प्रकरणमा कांग्रेस उस सभापति एवं पूर्व उपप्रधानमन्त्री विजय गच्छदार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दीप बस्यात लगायत १७५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
बुधबार अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो । अख्तियारले भ्रष्टचार मुद्दा दायर गरे सँगै गच्छदारको सांसद पद स्वत निलम्बनमा परेको छ । गच्छदार सुनसरीबाट प्रतिनिधिसभामा निर्वा्चित भएका थिए ।
अख्तियारले मुद्दामा पूर्वप्रमुख आयुक्त तथा तत्कालीन भौतिक पूर्वाधार सचिव बस्न्यात, तत्कालीन भौतिक पूर्वाधार मन्त्री गच्छदार, तत्कालीन भूमिसुधार मन्त्री डम्बर श्रेष्ठ र तत्कालीन भूमिसुधार सचिव छविलाल पन्त, हाल जिल्ला न्यायाधीश रहेका तत्कालीन कानुन उपसचिव विनोदकुमार गौतममाथि ९ करोड ६५ लाख विगो मागदावी गरेको छ ।
त्यस्तै पूर्व भूमिसुधार सचिव दिनेशहरि अधिकारी माथि ७ करोड ८ लाख, तत्कालीन मन्त्री चन्द्रदेव जोशी माथि पनि ७ करोड ८ लाख विगो मागदावी गरिएको छ ।
अख्तियारले मुद्दा दायर गरेका १७५ जनामध्ये ६५ जनालाई जग्गा जफत गर्ने प्रयोजनका लागि प्रतिवादी बनाइएको हो। ५० जना कुनै न कुनै समयका जग्गाधनी हुन् । ३२ जना मोही तथा हकदार हुन् भने ६० जना सार्वजनिक पदमा भएका व्यक्तिहरु हुन् ।
पूर्वप्रधानमन्त्रीहरु बाबुराम भट्टराई र माधव नेपाल तथा पूर्व मन्त्री एवं नेकपाका महासचिव विष्णु पौडेल र तत्कालीन मुख्यसचिव लिलामणि पौडेल विरुद्द भने मुद्दा दायर गरिएको छैन ।
विजय गच्छदार सांसदबाट निलम्बित
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका उपनेता विजयकुमार गच्छदार सांसद पदबाट निलम्बित भएका छन् । माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा ललितानिवासको सरकारी जग्गा नक्कली मोही हुँदै व्यक्तिका नाममा पुगेको थियो । त्यतिबेला गच्छदार भौतिक पूर्वाधार मन्त्री थिए । गच्छदारले नै बालुवाटारमा प्रधानमन्त्री निवास भित्रको जग्गा सट्टापट्टा गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पु¥याएका थिए ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोग सम्बन्धी ऐनको दफा १७ मा सार्वजनिक पद धारण गरेको व्यक्तिलाई भ्रष्टाचार आरोपमा मुद्दा चलेको अवस्थामा किनारा नभए सम्म स्वतः निलम्बन हुने व्यवस्था गरिएको छ ।
अख्तियारले गच्छदारसँग बालुवाटार जग्गा प्रकरणमा बयान लिएको थियो । गच्छदारले भने आफूले भ्रष्टाचार नगरेको बताउँदै आएका छन् ।