धनगढी - धनगढीको जुगेडामा भएको भीडब्लु प्रदेश स्तरीय महिला तथा पुरुष फुटबल प्रतियोगिता अन्तर्गत महिला तर्फ कालिका युवा क्लब र पुरुष तर्फ पिएफए अत्तरियाले उपाधि जितेका छन् ।
धनगढी उपमहानगरपालिका वडा नम्बर १२ जुगेडामा मनकामना युवा क्लबको आयोजनामा भएको भिडब्लु प्रदेश स्तरीय महिला तथा पुरुष फुटबल प्रतियोगिताको महिला तर्फको खेलमा सुर्मादेवी एकेडेमीलाई हराउँदै कालिका युवा क्लबले उपाधि जितेको हो । पुरुष तर्फको खेलमा सुदुरपश्चिम–११ लाई हराउँदै पिएफए अत्तरिया विजेता बनेको हो ।
मनकामना युवा क्लबको खेल मैदानमा भएको महिला तर्फको फाईनलमा कालिका युवा क्लबले सुर्मादेवी एकेडेमीलाई २–१ ले हरायो । सुर्मादेवी एकेडेमीले सुरुमा लिएको अग्रता उल्टाउँदै कालिका यो बर्ष च्याम्पीयन भएको हो । अघिल्लो बर्ष कालिका उपविजेता बनेको थियो । पहिलो हाफको १८ औं मिनेटमा विना वोहोराले गोल गर्दै सुर्मादेवीलाई अग्रता दिलाईन् ।
३३ औं मिनेटमा कालिकाका लागि गोल गर्दै कमला कठायतले खेल वरावरी गरिन् । दोस्रो हाफका १५ औं मिनेटमा सुरक्षा सिंहले गोल गर्दै कालिकालाई च्याम्पीयन बनाईन् । महिला तर्फको विजेता बनेको कालिकाले नगद २० हजार सहित ट्रफी मेडल र प्रमाणपत्र पाएको छ । उपविजेता बनेको सुर्मादेवीले नगद १० हजार सहित ट्रफी मेडल र प्रमाणपत्र पाएको छ ।
महिला तर्फ ७ टीमले सहभागीता जनाएका थिए । पुरुष तर्फको फाईनलमा पिएफए अत्तरियाले सुदुरपश्चिम–११ स्पोर्टस क्लबलाई २–० ले हराएर उपाधि जितेको छ । निकै प्रतिस्पर्धात्मक खेलमा पिएफएका लागि पहिलो हाफको २५ औं मिनेटमा गोल गर्दै जीवन चौधरीले अग्रता दिलाए । पहिलो हाफमा १–० ले पछाडी परेको सुदुरपश्चिम–११ ले दोस्रो हाफको २५ औं मिनेटमा विजय सिंहले गोल गर्दै अग्रता दोब्बर पारे । सुदुरपश्चिम–११ ले गोल गर्ने प्रयासलाई सही सदुपयोग गर्न नसक्दा उपविजेतामा चित्त वुझाउनु प¥यो ।
प्रतियोगिताको पुरुष तर्फको विजेता बनेको पिएफएले नगद ७५ हजार सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता बनेको सुदुरपश्चिम–११ ले ४१ हजार नगद पुरस्कार सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । माघ ११ गतदेखि सुरु भएको भिडब्लु प्रदेश स्तरीय महिला तथा पुरुष फुटबल प्रतियोगितामा पुरुष तर्फ १६ टीमले सहभागीता जनाएका थिए ।
प्रतियोगिताका विजयी खेलाडीहरुलाई एक समारोहका वीच पुरस्कार वितरण गरिएको छ । धनगढी उपमहानगरपालिका मेयर नृप ओडले विजयी खेलाडीहरुलाई समापन समारोहमा पुरस्कार वितरण गर्नुभयो । प्रतियोगिताको मुख्य प्रायोजकमा वानस्टप अटोमोवाईल्स रहेको थियो । यो भिडब्लु गाडीको आधिकारिक विक्रेता हो । त्यस्तै सह–प्रायोजकमा केटिएम डुक वाईक रहेको छ ।