अत्तरिया – कैलालीको अत्तरियामा खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धि अभिमुखीकरण तालीम सम्पन्न भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीको आयोजना र गोदावरी होटल व्यवसायी संघ कैलालीको सह–आयोजनामा तालिम सम्पन्न भएको हो ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीका कार्यालय प्रमुख नवराज दहालको सभापतित्वमा सम्पन्न भएको उद्घाटन कार्यक्रको प्रमुख अतिथि गोदावरी नगरपालिकाकी उपप्रमुख रत्ना कडायत रहेकी थिईन । गोदावरी नगरपालिकाकी उपप्रमुख रत्ना कडायतले गोदावरी नगरपालिकाले बजार अनुगमनका लागि कार्यबिधि बनाईसकेकाले त्यसै अनुसार बजार अनुगमन भईरहेको बताईन । उनले कार्यबिधिमा केहि संशोधन गर्न आवश्यक भए संशोधन गर्न तयार रहेको बताउँदै यसलाई अझै अध्ययन गरेर सबैका गुनासा समेट्ने आश्वासन दिईन् ।
‘भ्रमण बर्षलाई लक्षित गरी गोदावरी नगरपालिकामा बिभिन्न कार्यक्रम गरिदै छ । यसमा होटल व्यवसायीहरुको महत्तपूर्ण भुमिका हुन्छ ।’ उपप्रमुख कडायतले भनीन् – ‘भ्रमण बर्ष २०२० लाई सफल पार्न सबैभन्दा पहिले होटल व्यवसायीको ठुलो हात हुन्छ । पर्यटकको राम्रो संग बस्ने खाने व्यवस्था गर्न सकेमा यसले पर्यटन आवागमनमा बृद्धि हुन्छ ।’ उनले नगरपालिकाले प्रत्येक महिना छड्के अनुगमन गर्ने योजना बनाएको भएपनि कार्यान्वयन हुन नसकेको बताईन । उनले आगामी दिनमा यसलाई निरन्तरता दिने बताईन् ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीका कार्यालय प्रमुख नवराज दहालले स्वास्थ्य भन्दा ठुलो केहि नहुने भएकाले होटल व्यवसायीले स्वच्छ खाना खुवाउने कुरामा सचेत हुनुपर्ने बताए । उनले नजानेर, भ्रमपुर्ण कुराबाट र नियतवस अखाद्य पदार्थ बिक्रिवितरण हुने गरेको बताउँदै यस्ता समस्या सामाधानका लागि सबैमा चेतनाको विकास हुनुपर्ने बताए ।
गोदावरी नगरपालिकाका प्रवक्ता एवम वडा नम्बर १ का वडा अध्यक्ष शर्मानन्द भट्टले जनप्रतिनिधि निर्वाचित भएपछि बजार अनुगमनको काम अगाडी बढेको बताए । उनले महिनामा २ पटक नै बजार अनुगमन गर्न चाहेको भएपनि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयमा कर्मचारी अभाव भएकाले समय दिन नसकेका कारण नियमित अनुगमन हुन नसकेको बताए ।
‘भुकम्प आएजस्तै बजार अनुगम गरिन्छ भनेर व्यवसायीले लगाउने आरोप गलत छ ।’ प्रवक्ता भट्टले भने – ‘बजार अनुगमन हाम्रौ लागि भएकाले यसलाई सहज रुपमा लिनुपर्छ । होटलमा बनेका खानेकुरा होटल व्यवसायीले पनि खाने भएकाले आफू पनि स्वच्छ रहनका लागि स्वच्छ खानेकुरा बनाउन आवश्यक छ ।’
उनले अत्तरियाका होटललाई स्वच्छ खानेकुरा पाईने ठाउँको रुपमा चिनाउन आवश्यक रहेको बताए । ‘ठाउँ जस्तो सुकै भएपनि, साना होटल भएपनि खानेकुरा स्वच्छ बनाउनु पर्छ ।’ प्रवक्ता भट्टले भने ।
गोदावरी नगरपालिका २ का वडा अध्यक्ष कृष्ण राज जोशीले खानामा स्वच्छता ल्याउन जरुरी भएको बताए । उनले खानेकुरामा रंग मिसाउने गरेको पाईएकाले त्यसो नगर्न आग्रह गरे ।
कार्यक्रममा अत्तरिया उद्योग बाणिज्य संघका महासचिव यज्ञ राज जोशी, गोदावरी होटल व्यवसायी संघका अध्यक्ष धना चोखाल लगायत गोदावरी अत्तरियामा होटल व्यवसाय गर्ने व्यवसायीहरुको सहभागीता रहेको थियो । तालिममा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढी अनुसन्धान अधिकृत दिपक कुवँर र उज्जल कोईरालाले प्रशिक्षण दिएका थिए । तालिम कार्यक्रमको संचालन गोदावरी होटल व्यवसायी संघका महासचिव शिवराज रेग्मीले गरेका थिए ।
सम्बन्धित खबर
कर्मकाण्डी बजार अनुगमनको २ घण्टा ४८ मिनेट
अत्तरियाका मासु पसलको प्रभावकारी अनुगमन भएन