अत्तरिया – राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम अन्तगत स्थानिय तहका जनप्रतिनिधि तथा शिक्षासम्बद्ध पदाधिकारीहरुका लागि क्षमता विकास कार्यशाला गोष्ठी अत्तरियामा सुरु भएको छ । ३ दिने कार्यशाला गोष्ठीको सोमबार एक कार्यक्रमका बिच गोदावरी नगरपालिकाका नगरप्रमुख हरी सिं साउँदले सुभारम्भ गरेका छन ।
गोदावरी नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष कृष्ण राज जोशीको सभापतित्वमा भएको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि गोदावरी नगरपालिका नगरप्रमुख साउँद रहेका थिए । कार्यक्रममा बिशिष्ट अतिथि गोदावरी नगरपालिकाकी उपप्रमुख रत्ना कडायत रहेकी थिईन । क्षमता विकास कार्यशाला गोष्ठीको पहिलो दिन गौरिगंगा नगरपालिकाका युवा तथा खेलकुद शाखाका उपसचिव हरिस पन्त, गोदावरी नगरपालिका शिक्षा तथा खेलकुद शाखाका उपसचिव बसन्त कुमार खत्रीले प्रशिक्षण दिएका छन । गोदावरी नगरपालिकाको आयोजना, युएसएआईडीको आर्थिक सहयोग तथा एनईजिआरपीको प्राबिधिक सहयोगमा कार्यक्रम गरिएको हो ।
गोष्ठीमा नेपालको विद्यमान शैशिक नीति तथा कार्यक्रम, स्थानीय तहको योजना निर्माण प्रक्रिया, योजना निर्माणमा कक्षाकोठामा आधारित प्रारम्भिक कक्षा पढाई सिप परिक्षण, स्थानीय पालिकाको शिक्षा पाश्र्चचित्रको ढाँचा तथा तयारी प्रक्रिया, स्थानीय तहमा प्रारम्भिक कक्षा पढाई कार्यक्रमको कार्यान्वय कार्य योजना निर्माण लगायतका बिषयवस्तुमा छलफल तथा प्रशिक्षण दिईने एनईजिआरपीका कार्यक्रम अधिकृत तिकल चौधरीले बताए । कैलालीका १३ ओटै स्थानिय तहमा कार्यक्रम संचालन गर्ने योजना अन्तरगत यसअधि लम्की चुहा र बर्दगोरीयामा कार्यक्रम सम्पन्न भईसकेको अधिकृत चौधरीले बताए ।
कार्यक्रममा वडा अध्यक्ष, विद्यालय व्यवस्थापन समिति अध्यक्ष, शिक्षक अभिभावक समितिका प्रतिनिधि, प्रधानाध्यापक, शिक्षक लगाएतकाको सहभागिता रहेको छ । कार्यक्रमको संचालन गोदावरी नगरपालिका शिक्षा शाखाका प्रयाग राज जोशीले गरिरहेका छन ।