अत्तरिया – निर्माणाधिन मोहना अत्तरिया ६ लेन सडक अन्तरगत करिब ९ किलोमिटर एकतर्फि कालोपत्रेको काम सकिएको छ । मोहना अत्तरिया सडक अन्तरगत पहिलो खण्डको एकतर्फि २ किलोमिटर कालोपत्रेको काम सम्पन्न भएको छ । मोहनापुल जिरो पोईन्टको २ सय मिटर अगाडी देखि धनगढीको सहिद गेट सम्म २ किलोमिटर कालोपत्रे गरिएको शर्मा, नागार्जुन कन्ट्रक्सनका ईन्जिनियर नबिन देवले बताए । मोहनापुल देखि बोराडाँडी सम्म ४ किलोमिटर सो सडक खण्डमा अब २ किलोमिटर एकतर्फि कालोपत्रेको गर्न बाकी रहेको छ ।
त्यस्तै बोराडाँडी देखि मोहनपुर सम्मको साढे चार किलोमिटर लामो दोस्रो खण्डको साढे ३ किलोमिटर सडक एकतर्फि कालोपत्रेको काम सकिएको छ । दोस्रो खण्डको निर्माण ठेक्का पाएको लुम्बिनी राजेन्द्र निर्माण सेवाका इन्चार्ज प्रयाग राज भट्टका अनुसार सो खण्डको बोराडाडी देखि मोहनपुरको खाद्य संस्थान सम्म एकतर्फि कालोपत्रेको काम सकिएको हो ।
सोहि कम्पनिले निर्माण गरिरहेको तेस्रो खण्डको पनि करीब साढे ३ किलोमिटर कालोपत्रे भईसकेको ईचार्ज भट्टले बताए । उनका अनुसार मनहरा पुल देखि अत्तरिया चोक सम्म एकतर्फि कालोपत्रेको काम सकिएको छ । तिन ओटै खण्ड गरी १४ दशमलव २ किलोमिटर लामो सडकको एकतर्फि ९ किलोमिटर कालोपत्रे सकिएको छ ।
लुम्बिनी राजेन्द्र निर्माण सेवाका इन्चार्ज भट्टले फागुन मसान्त सम्ममा एकतर्फि कालोपत्रेको काम सकिने र त्यसपछि अर्को पट्टिको सडक कालोपत्रे गरिने बताए । ‘मौसमले साथ दिएमा फागुन मसान्त सम्म एक तर्फि सम्पुर्ण कालोपत्रेको काम सकिएर गाडी गुड्न सक्छ ।’ इन्चार्ज भट्टले भने । निर्माण व्यवसायीहरुले एकतर्फि अर्थात ३ लेन कालोपत्रे गरेर सवारी संचालन गरेर मात्रै अर्को तिन लेनमा कालोपत्रे गर्ने योजना बनाएका छन । जस अन्तरगत अहिले कालोपत्रे अर्थात बिबिएम गर्ने काम भईरहेको छ । अहिले गरिएको कालोपत्रे माथि पुन ४ सेन्टिमिटरको अस्पार्ट कङ्क्रीट हालिने छ ।
प्रतिकुल मौसमले कालोपत्रे गर्न समस्या
निर्माण व्यवसायिले कालोपत्रेको काम सुरु गरेदेखिनै मौसमले साथ नदिएका कारण काम गर्न समस्या भएको बताएका छन । ‘पानीको कारणले समस्या भएको हो नत्र अहिले सम्म एकतर्फि सडक कालोपत्रेको काम सकिन्थो ।’ लुम्बिनी राजेन्द्र निर्माण सेवाका इन्चार्ज भट्टले भने – ‘लामो समय देखि घाम पनि लागेन जसले गर्दा सडक सुक्न पाएन सडक नसुकेमा कालोपत्रे गर्न समस्या हुन्छ । सुख्खा मौसम भएमा कुहिरो लागेको भएपनि कालोपत्रे गर्न सकिन्छ तर सडक सुकेको हुनुपर्छ । सडकमा चिस्यान सुक्नु पर्छ ।’
मंसिर देखि कालोपत्रेको काम सुरु गरिएको भएपनि मौसमले साथ नदिदा कालोपत्रे गर्न समस्या भएको इन्चार्ज भट्टले बताए । इन्चार्ज भट्टले भने – ‘मंसिरमा १४/१५ काम गर्याै , पुस महिना भरी घाम नै नलागेकाले काम नै गर्न सकिएन् । माघ महिनामा २÷४ दिन मात्रै काम गनै पाएका छौ ।’
जेठ महिनामै निर्माण गर्नुपर्ने सडक ढिलो गरेर कालोपत्रेको काम सुरु गरिएको भएपनि लामो समय देखि घाम नलाग्ने र हिउँदे बर्षाका कारण कालोपत्रे गर्नमा समस्या भएको हो ।
आयोजनाको भौतीक प्रगती ६० प्रतिशत
पछिल्लो समय मोहना अत्तरिया ६ लेन सडक निर्माणको कामले तीव्रता पाएको छ । कार्तिक सम्म ४० प्रतिशत मात्रै काम सम्पन्न भएको सडकमा पछिल्लो समय तिब्रता दिईएको छ । अहिले सडकको भौतिक प्रगति ६० प्रतिशत भन्दा बढी भएको सडक आयोजनाका कार्यालयका सुचना अधिकारी खगेन्द्र शाहीले बताए ।
एक अर्ब ६८ करोडको लागतको यो आयोजनाका लागि तीनवटा ठेक्का दिइएका छन् । सम्झौता अनुसार ६ लेन सडकको दोश्रो र तेश्रो खण्ड लुम्बिनी राजेन्द्र निर्माण सेवाले ठेक्का पाएको थियो भने शर्मा, नागार्जुन कन्ट्रक्सनले ठेक्का पाएको पहिलो खण्डको निर्माण ठेक्का पाएको थियो । सरकारले आयोजनाको म्याद नथप्ने अडान लिए संगै सडक निर्माणको जिम्मा लिएका ठेकदार कम्पनिले काममा तिब्रता दिएका छन ।