अत्तरिया - आज सहिद दिवस । देश र जनताको पक्षमा आबाज उठाउदै आफ्नो ज्यान बलिदान दिन विर सहिदहरु प्रति सम्मान गर्दै देशभर सहिद दिवस मनाइँदै छ । शहीद दिवसका अवसरमा देशभर प्रभातफेरी , शहीद प्रति श्रद्धाञ्जलि , सहिदहरुको योगदान बारे छलफल लगाएतका बिभिन्न कार्यक्रमहरुको आयोजना गरिएका छन् ।
माघ १६ गते अर्थात आजका दिन प्रजातन्त्र स्थापना एवं पुनर्स्थापना तथा विभिन्न कालखण्डमा स्वतन्त्रताका लागि भएका आन्दोलनहरुमा आफ्नो जिवन बलिदान दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी शहीद दिवस मनाइन्छ ।
वीर सहिद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठको सङ्घर्षमय जीवन र बलिदानको गाथा र प्रजातान्त्रिक आन्दोलनका अरू योद्धाहरूको योगदानमा सहिद दिवस मनाइँदै आएको छ । देशका विभिन्न समयमा भएका आन्दोलनमा होमिएर राष्ट्रका लागि वीरगति प्राप्त गरेका सहिदको साहस र त्यागको पनि उच्च मूल्याङ्कन गर्दै माघ १६ लाई सहिद दिवशको रुपमा मनाईदै आईएको हो ।
विसं १९९७ माघ १० गते निरङ्कुश राणा शासनविरुद्धमा नेपाल प्रजापरिषद् स्थापना गरी जनतालाई आफ्नो हक र अधिकारका लागि क्रान्ति गर्न प्रेरित गर्ने शुक्रराजलाई टेकुस्थित खरीको रूखमा झुन्डयाएर हत्या गरिएको थियो। यस्तै, सोही बर्ष माघ १३ गते सिफलमा धर्मभक्तलाई झुन्ड्याइएको थियो भने माघ १५ गते दशरथ चन्द र गङ्गालाललाई शोभा भगवतीमा गोली हानी हत्या गरिएको थियो।
मुलुकमा चलेको १० वर्षे सशस्त्र द्वन्द्व, २०६२÷६३ सालको जनआन्दोलन, मधेस आन्दोलन र अन्य विभिन्न पहिचानका आन्दोलनपछि सहादत प्राप्त गर्ने व्यक्तिलाई पछिल्लो समय सहिद घोषणा गर्ने प्रचलन बढेको छ ।